मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकासँग हारेपछि स्कटल्यान्डले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

351
SHARES
अमेरिकासँग हारेपछि स्कटल्यान्डले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा स्कटल्यान्डले आफ्नो अन्तिम खेलमा अमेरिकासँग हार बेहोरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिका ६ विकेटले विजयी भयो ।

यस हारसँगै स्कटल्यान्डले लिग–२ को शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ । ३२ खेलबाट १६ जित र १० हारसहित ३८ अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा सीमित भएको छ । समान ३८ अंक भए पनि राम्रो नेट रनरेटका आधारमा अमेरिका शीर्ष स्थानमा उक्लिएको हो । अमेरिकाले २७ खेलमध्ये १९ मा जित निकालेको छ ।

नेपाल भ्रमणका क्रममा स्कटल्यान्डले दुई जित र दुई हारसहित चार अंक संकलन गर्‍यो । उसले सुरुआती दुई खेलमा नेपाल र अमेरिकालाई डीएलएस विधिबाट समान दुई रनले पराजित गरेको थियो । त्यसपछि नेपाल र अमेरिकासँग समान ६ विकेटको हार बेहोरेको हो ।

बुधबार स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७।१ ओभरमै चार विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाका ओपनर स्मिथ पटेल र सयान जहानगिरले समान ३७ रन जोडे । कप्तान साइतेजा मुक्कमल्लाले ३५ रन बनाए भने मिलिन्द कुमार २४ र शुभम रन्जाने ११ रनमा अविजित रहे । सेहान जयसुर्या १९ रनमा रनआउट भए ।

स्कटल्यान्डका लागि ज्याक जार्भिस, ओलिभर डेविडसन र माइकल लिस्कले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रनमा समेटिएको थियो । टोलीका लागि मार्क वाटले सर्वाधिक ६६ रन बनाए । उनले ८५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । ब्रान्डोन म्याकमुलेनले ३२ रन जोडे भने जर्ज मुन्से १९ रनमा आउट भए । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

अमेरिकाका रुसिल उगाकारले चार विकेट लिए । सौरभ नेत्रवाल्करले तीन तथा शुभम रन्जानेले दुई विकेट लिए भने हरमित सिंहले एक विकेट हात पारे ।

शृंखलाको अन्तिम खेल शुक्रबार नेपाल र अमेरिकाबीच हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ११:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP