मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेल्जियमलाई अन्तिम समयमा हराउँदै स्पेनको १६ वर्षपछि सेमिफाइनल यात्रा

403
SHARES
बेल्जियमलाई अन्तिम समयमा हराउँदै स्पेनको १६ वर्षपछि सेमिफाइनल यात्रा

काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा बेल्जियममाथि २–१ को रोमाञ्चक जित निकाल्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अमेरिकाको लस एन्जलसमा सम्पन्न खेलमा स्पेनका लागि निर्णायक गोल मिकेल मेरिनोले खेलको ८८औँ मिनेटमा गरे । पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलरक्षकले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा मेरिनोले सहज फिनिस गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

स्पेनले पहिलो अग्रता भने ३०औँ मिनेटमा फेबियन रुइजको गोलमार्फत लिएको थियो । तर ४१औँ मिनेटमा चार्ल्स डे केटलेरले हेडमार्फत बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो । खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा मेरिनोको अन्तिम समयको गोलले स्पेनलाई जित दिलायो ।

पूरै खेलमा स्पेनले बलमाथि स्पष्ट नियन्त्रण कायम राख्यो । स्पेनले १६ पटक प्रहार गर्दा बेल्जियमले केवल ५ प्रहार मात्र गर्न सक्यो । आक्रामक खेल प्रस्तुत गरेको स्पेनले अन्ततः त्यसको प्रतिफल जितका रूपमा पायो ।

सन् २०१० मा विश्वकप उपाधि जितेको स्पेन त्यसयता विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ मा भने अन्तिम १६ बाटै प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक भने उत्कृष्ट लय कायम राख्दै १६ वर्षपछि पुनः सेमिफाइनलमा पुग्न सफल भएको हो ।

यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमिफाइनल यात्रा हो । यसअघि टोली १९५० र २०१० मा अन्तिम चारमा पुगेको थियो । २०१० मा स्पेन पहिलोपटक विश्वविजेता बनेको थियो भने १९५० मा चौथो स्थानमा सीमित भएको थियो ।

यता, बेल्जियमको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ । २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो भने यसपटक अन्तिम आठभन्दा माथि उक्लिन सकेन ।

अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २७, शनिबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP