मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तिम मिनेटको नाटक : बेल्जियमको ऐतिहासिक पुनरागमन, इंग्ल्यान्ड पनि अन्तिम १६ मा

546
SHARES
अन्तिम मिनेटको नाटक : बेल्जियमको ऐतिहासिक पुनरागमन, इंग्ल्यान्ड पनि अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ ३२ मा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै सेनेगललाई ३–२ ले पराजित गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको अवस्थाबाट फर्किएको बेल्जियमले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

खेलको २४औँ मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ५१औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २–० ले अघि बढेको थियो । निर्धारित समयको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म बेल्जियम पराजयको संघारमा थियो ।

तर ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि कप्तान युरी थिलेमन्सले बराबरी गोल गरेपछि खेल २–२ को अवस्थामा अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

जब खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख देखिएको थियो, अतिरिक्त समयको अन्तिम मिनेटमा सेनेगलका लामिन कामाराले पेनाल्टी क्षेत्रभित्र फाउल गरे । भिएआरको समीक्षा पछि प्राप्त पेनाल्टीमा कप्तान थिलेमन्सले कुनै गल्ती नगरी गोल गर्दै बेल्जियमलाई ३–२ को ऐतिहासिक जित दिलाए ।

यो विश्वकप इतिहासकै उत्कृष्ट पुनरागमन जितमध्ये एक मानिएको छ । साथै, थिलेमन्सको १२५औँ मिनेटको गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको गोल बनेको छ ।

यो हारसँगै सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ । यस विश्वकपमा सहभागी १० अफ्रिकी टोलीमध्ये मोरक्को बाहेक नकआउट खेलेका सबै टोली पराजित भएका छन् । यसअघि दक्षिण अफ्रिका, आइभरी कोस्ट र डीआर कंगो पनि बाहिरिइसकेका छन् भने केप भर्डे, इजिप्ट, घाना र अल्जेरियाले आफ्नो नकआउट खेल खेल्न बाँकी छ ।

अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यता, अमेरिकाको एटलान्टा स्टेडियममा भएको अर्को राउन्ड अफ ३२ को खेलमा इंग्ल्यान्डले डीआर कंगोलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ ।

डीआर कंगोले खेलको सातौँ मिनेटमै ब्रायन सिपेंगाको गोलबाट अग्रता लिएको थियो र ७४औँ मिनेटसम्म त्यो अग्रता जोगाएको थियो । तर कप्तान ह्यारी केनले ७५औँ र ८६औँ मिनेटमा लगातार दुई गोल गर्दै इंग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए ।

खेलभर ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको इंग्ल्यान्डले १६ पटक प्रहार गरेको थियो, जसमा आठ प्रहार लक्ष्यमा थिए । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीले हारको संघारबाट आफूलाई बचाउन सफल भयो ।

दुई गोलसँगै ह्यारी केन गोल्डेन बुटको दौडमा पनि बलियो बनेका छन् । केन र एर्लिङ हालान्डको समान पाँच गोल छ भने लियोनेल मेस्सी र केलियन एम्बाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा छन् । असमान डेम्बेलेले चार गोल गरेका छन् ।

इंग्ल्यान्डले अब जुलाई ६ मा आयोजक मेक्सिकोसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १८, बिहीबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP