मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेशपछि कोशीमा पनि सत्ता फेरबदलको संकेत, एमाले–कांग्रेसबीच नेतृत्व विवाद चर्किदै

1K
SHARES
मधेशपछि कोशीमा पनि सत्ता फेरबदलको संकेत, एमाले–कांग्रेसबीच नेतृत्व विवाद चर्किदै

काठमाडौं । कोशी प्रदेशमा सत्ता समीकरण परिवर्तन हुने चर्चा तीव्र बनेको छ । मधेश प्रदेशमा हालै भएको राजनीतिक फेरबदलपछि त्यसको प्रभाव कोशी प्रदेश राजनीतिमा समेत देखिन थालेको हो । अहिले कोशीमा रहेको नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनभित्र अब सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद सतहमा आएको छ ।

मधेश प्रदेशमा जेठ ७ गते जनता समाजवादी पार्टी नेपालका मन्त्रीहरूलाई सरकारबाट बाहिर निकालेर एमालेलाई सरकारमा सहभागी गराइएपछि नयाँ राजनीतिक समीकरण बनेको थियो । त्यसको केही दिनमै कोशी प्रदेशमा पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको हो ।

हाल कोशी प्रदेश सरकारको नेतृत्व एमाले सचिवसमेत रहेका हिक्मतकुमार कार्कीले गरिरहेका छन् । तर कांग्रेसभित्र अब सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुनसरीमा आयोजित कार्यक्रममा कोशीमा चाँडै सत्ता परिवर्तन हुने र नयाँ सरकार कांग्रेस नेतृत्वमा बन्ने दाबी गरेका थिए ।

यद्यपि एमाले भने मुख्यमन्त्री पद कांग्रेसलाई सहजै छाड्ने मनस्थितिमा देखिएको छैन । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली भने नेतृत्व परिवर्तन गर्न सकिने तर सरकारको नेतृत्व एमालेकै हातमा रहनुपर्ने पक्षमा रहेको चर्चा छ । एमाले स्रोतका अनुसार ओली हालका मुख्यमन्त्री कार्कीको विकल्प खोज्ने पक्षमा देखिएका छन् ।

यसैबीच सम्भावित सत्ता परिवर्तनको चर्चा चुलिएका बेला मुख्यमन्त्री कार्कीले हतारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै आलोचना समेत सुरु भएको छ । विगतमा सरकारले नीति तथा कार्यक्रम अघि बढाउनुअघि प्रतिपक्षी दल र संसदीय समितिसँग सुझाव लिने अभ्यास गर्दै आएको भए पनि यस पटक त्यस्तो प्रक्रिया अपनाइएको छैन ।

कांग्रेस नेताहरूले बजेट प्रस्तुत हुनुअघि नै सरकार परिवर्तन गर्नुपर्ने रणनीति बनाएको बताइरहेका छन् । प्रदेशसभामा असार १ गतेअघि बजेट ल्याउन नपाइने संवैधानिक व्यवस्थाका बीच मुख्यमन्त्रीले भने जेठ ७ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । यसलाई सत्ता जोगाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि सरकारले आवश्यक परामर्शबिना नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् । उनले अहिलेको अवस्थामा आफ्नो दल प्रतिपक्षमै रहने स्पष्ट पारे ।

एमालेभित्र भने मुख्यमन्त्री परिवर्तनबारे आन्तरिक छलफल भइरहेको संकेत देखिएको छ । संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो लाई सम्भावित विकल्पका रूपमा अघि सार्ने तयारी भइरहेको चर्चा छ । अर्कोतर्फ कांग्रेसले संसदीय दलका नेता उद्धव थापा लाई मुख्यमन्त्रीको दाबेदार बनाएको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि एमाले अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध चिसिएको चर्चा पनि प्रदेश राजनीतिमा जोडिएको छ । ओलीको गृह क्षेत्रमा आएको कमजोर चुनावी परिणामपछि कार्कीमाथि पार्टीभित्रै असन्तुष्टि बढेको बताइन्छ । यही कारण आगामी दिनमा कोशी प्रदेशको सत्ता समीकरण अझै रोचक बन्न सक्ने आँकलन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP