मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२०८३ भित्र ढाडे–खिजीफलाटे सडक कालोपत्रे हुन्छ: मन्त्री सुनुवार

1.7K
SHARES
२०८३ भित्र ढाडे–खिजीफलाटे सडक कालोपत्रे हुन्छ: मन्त्री सुनुवार

खिजीफलाटे (ओखलढुंगा) । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारले २०८३ सालभित्र रामेछापको ढाडेदेखि ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित सदरमुकाम खिजीफलाटेसम्मको सडक कालोपत्रे गरिने घोषणा गरेका छन् । शनिबार खिजीदेम्बाको खिजीफलाटेमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त सडक स्तरोन्नतिले स्थानीय जनजीवन र आर्थिक गतिविधिमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी महासंघ समन्वय परिषद् खिजीदेम्बाको आयोजनामा भएको कार्यक्रममा मन्त्री सुनुवारले सडक निर्माणले विशेषगरी ग्रामीण क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने, कृषि उत्पादनको बजारीकरण सहज बनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले पूर्वाधार विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे ।

उक्त अवसरमा आयोजित ‘जातीय झाँकी प्रतियोगिता २०८२’ को उद्घाटन गर्दै मन्त्री सुनुवारले खिजीदेम्बा बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधताले भरिएको क्षेत्र भएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमहरूले भाषा, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमकै क्रममा उनले खिजीदेम्बामा जनजाति संग्रहालय निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । सबै जातजातिको सहकार्यमा संग्रहालय निर्माण भएमा यसले स्थानीय पहिचान जोगाउन मात्र नभई अध्ययन तथा पर्यटनको केन्द्र बन्ने विश्वास उनले व्यक्त गरे ।

“तपाईंहरूको मतकै कारण म आज यो स्थानमा पुगेको हुँ, त्यसको ऋण तिर्न विकासका कामलाई तीव्रता दिनु मेरो दायित्व हो,” उनले भने ।

कार्यक्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवार, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशिला तामाङलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । विभिन्न जातीय समुदायले आफ्ना मौलिक नृत्य, भेषभूषा र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै कार्यक्रमलाई रंगीन बनाएका थिए ।

कार्यक्रममा वक्ताहरूले यस्ता सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे । साथै, यसले नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानप्रति आकर्षित गर्नुका साथै पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यससँगै, खिजीदेम्बामा पूर्वाधार विकास र सांस्कृतिक संरक्षणलाई सँगसँगै अगाडि बढाउने प्रयासले समग्र क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २८, शनिबार १७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP