मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कांग्रेसभित्र महाधिवेशनको टुंगो अझै अनिश्चित

3.4K
SHARES
नेपाली कांग्रेसभित्र महाधिवेशनको टुंगो अझै अनिश्चित

तत्काल विशेष महाधिवेशन गरौँः गगन, पार्टी फुटेको म हेर्न सक्दिनँः देउवा

काठमान्डु । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद अन्त्य हुने संकेत अहिलेसम्म स्पष्ट देखिएको छैन । बिहीबार साँझ सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई विशेष महाधिवेशन नै पार्टी र मुलुकका लागि हितकारी हुने सुझाव दिएका थिए ।

छलफलमा सहभागी एक पदाधिकारीका अनुसार थापाले सभापतिलाई भनेका थिए, “संस्थापनले नै नियमित महाधिवेशन सम्भव छैन भनेको छ । डेढ महिनादेखि यही विषयमा कुरा भइरहेको छ । तपाईंले नै विशेष महाधिवेशन गरिदिनुभयो भने पार्टी, देश र तपाईंको समेत हित हुन्छ ।”

थापाको आग्रहपछि देउवाले उक्त प्रस्तावबारे विचार गर्ने संकेत दिए । ती पदाधिकारीका अनुसार देउवाले भने, “सल्लाह गरेर अघि बढौँ । तर विशेष महाधिवेशन भने हुँदैन । त्यसले पार्टी फुट्न सक्छ । म पार्टी फुटेको हेर्न सक्दिनँ। सहमतिमै जाने हो ।”

छलफलमा देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा नेता रमेश लेखक उपस्थित थिए ।

बैठकमा नेता लेखकले नियमित महाधिवेशनको क्यालेन्डर ल्याउनुपर्ने भन्दै एक शर्त राखे । “पहिले नियमित महाधिवेशनको समयसूची ल्याऔँ । त्यो आएपछि विशेषको निवेदन फिर्ता गर्नु नपर्ला, तर विशेष हुँदैन भन्ने ग्यारेन्टी चाहिन्छ,” उनले भने ।

तर दुवै महामन्त्रीले लेखकको प्रस्तावप्रति शंका व्यक्त गर्दै अस्वीकार गरे । महामन्त्री शर्माले “न नियमित हुन्छ भन्ने, न विशेष नगर्ने ग्यारेन्टी दिने” प्रकारको प्रस्ताव व्यवहारिक नभएको बताए । उनको भनाइमा, “नियमित क्यालेन्डर ल्याएर मात्रै महाधिवेशन टुंगो हुन्छ । अहिलेका लागि विशेषबाहेक विकल्प छैन ।”

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले नियमित कि विशेष—महाधिवेशन कुन गर्ने भन्ने विषयमा अझै निर्णय गर्न सकेको छैन । दुई महामन्त्री विशेष महाधिवेशनकै पक्षमा छन्, किनकि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिरहेको छ । तर देउवा समूह भने फागुन २१ को निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

यही विषयमा सहमति खोज्न उपसभापति खड्काले बैठक निरन्तर सार्दै आएका छन् । उनले सहमति नभएसम्म बैठक अघि नबढाउने बताउँदै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP