मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवा बाढीको कहर: १५७ शव फेला, सयौँ बेपत्ता, पूर्वाधारमा २ खर्बभन्दा बढी क्षति

247
SHARES
रसुवा बाढीको कहर: १५७ शव फेला, सयौँ बेपत्ता, पूर्वाधारमा २ खर्बभन्दा बढी क्षति

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार हालसम्म विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।

बाढीबाट रसुवा, धादिङ र नुवाकोटका नदी किनारका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । कतिपय स्थानमा बस्ती नै बगाएकाले कति मानिस बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ । बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिसमेत छन् । नेपाल प्रहरीले आफ्ना २८ कर्मचारी अझै सम्पर्कमा नरहेको जनाएको छ ।

बाढीमा घाइते भएकामध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन् ।

४०३ पर्यटक सम्पर्कविहीन
बाढीका कारण रसुवामा ४०३ पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । तीमध्ये ३४१ विदेशी र ६२ नेपाली पर्यटक छन् । सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला छन् ।

विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । १३३ भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् । त्यसपछि अमेरिका ४७, अस्ट्रेलिया ३४, बेलायत ३३, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिका ६ जना छन् ।

त्यसैगरी सिंगापुरका ६, न्युजिल्यान्ड र जापानका ५/५, जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ पर्यटक सम्पर्कविहीन रहेको विवरण छ ।

पूर्वाधारमा मात्रै दुई खर्बभन्दा बढी क्षतिको अनुमान
सरकारले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनमा पूर्वाधार क्षेत्रमा मात्रै दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सडक र पुल पुनर्निर्माणलाई प्राथमिकतामा राखिने बताएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार राति साढे ११ बजेसम्मको विवरणअनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ ।

बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४० किलोमिटर सडकसमेत बाढीले पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । रसुवागढी भन्सारको भौतिक संरचना पनि पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सारमा कार्यरत केही कर्मचारी अझै सम्पर्कविहीन छन् ।

रसुवागढी नाका हुँदै दसैं, तिहार, तीज र छठलाई लक्षित गरी आयात गरिएका ठूलो परिमाणका सामान, सयौँ मालवाहक कन्टेनर तथा व्यवसायी र मजदुरसमेत बाढीबाट प्रभावित भएका छन् । भन्सार यार्डमा रहेका रेडिमेड सामानसँगै विद्युतीय सवारीसाधनसमेत बाढीले बगाएको व्यवसायीहरूले बताएका छन् ।

६ प्रसारण लाइन अवरुद्ध
बाढीका कारण रसुवामा विद्युत् प्रसारण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ६ वटा प्रसारण लाइन अवरुद्ध भएका छन् ।

त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हब, समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनमा पनि अवरोध आएको प्राधिकरणले जनाएको छ ।

तीन जिल्ला संकटग्रस्त घोषणा
बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावित तीन जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ ।

विपद्को सामना गर्न विभिन्न दातृ निकायले सहयोगको घोषणा गरेका छन् । भारतले नेपाललाई १० टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।

बाढीपछि सबै राजनीतिक दलहरूले सरकारको उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संसद्मा समेत दलका प्रतिनिधिहरूले विपद्को अवस्थामा सरकारलाई साथ दिने बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP