मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोदारी खण्डको अरनिको राजमार्ग सञ्चालनमा, रोकिएका कन्टेनर आवत–जावत सुरु

2.7K
SHARES
कोदारी खण्डको अरनिको राजमार्ग सञ्चालनमा, रोकिएका कन्टेनर आवत–जावत सुरु

काठमाडौं । पटक–पटकको अवरोधपछि अरनिको राजमार्गको कोदारी खण्ड पुनः सञ्चालनमा आएको छ । लामो समयदेखि पहिरोका कारण अवरुद्ध रहँदै आएको यो खण्डलाई अस्थायी रूपमा सुचारु गरिएको सडक विभागले जानकारी दिएको छ ।

वर्षाका कारण कोदारी क्षेत्रमा लगातार पहिरो झर्ने, ढुंगा र लेदो बग्ने, भोटेकोशी नदीको कटान हुनेजस्ता समस्याले राजमार्ग सञ्चालनमा चुनौती थपिँदै आएको थियो । सडक विभागका अनुसार ४ भदौ २०८२ मा १८ दिनपछि सडक खुलेको थियो तर त्यसपछि ९ भदौ र १६ भदौमा पुनः अवरुद्ध भएको थियो ।

अत्यधिक वर्षा, जोखिमयुक्त भौगोलिक अवस्थाले सडक मर्मतमा कठिनाइ भएको जनाइएको छ । त्यस्तै, पहिरोले स्थानीय बासिन्दाका घरमा क्षति पुर्याएको र उनीहरूबाट मर्मतमा अवरोध देखिएको विभागको भनाइ छ ।

२ असोजको राति परेको वर्षाले थप चार स्थानमा पहिरो जाँदा स्थिति अझै जटिल भएको थियो । हाल सडक विभागले पहिरोलाई अस्थायी रूपमा प्लास्टिकले ढाक्ने, ड्रिलिङ गरेर पानी निकास गर्ने उपाय अवलम्बन गरी राजमार्ग सञ्चालनमा ल्याएको छ । स्थायी समाधानका लागि डिजाइनको काम पनि अघि बढाइएको छ ।

यसबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोलीसहित कोदारी क्षेत्रमा स्थलगत अनुगमन गरेका छन् । उनले पहिरोबाट सबैभन्दा प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गर्दै जोखिम न्यूनीकरण र दीर्घकालीन समाधानका उपायबारे विचार–विमर्श गरेका थिए ।

चाडपर्वको समय पारेर चीनसँगको प्रमुख व्यापारिक नाका बन्द हुँदा ठूलो संख्यामा कन्टेनरहरू भोटेकोशी नाकामा रोकिएका थिए । स्थानीयको अवरोधले पहिरो पन्छाउने कार्यमा पनि ढिलाइ भएको थियो । त्यसपछि मन्त्री घिसिङले स्थानीय नेतृत्वसँग संवाद गर्दै सहजीकरणको आग्रह गरेका थिए ।

हाल राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका सयौँ कन्टेनरहरूले आवत–जावत गर्न थालेका छन्, जसले दशैंको सामान आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार १४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP