मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मलेसिया रोजगारीमा आबद्ध २५ मुख्य संस्था छानबिनमा, २५० संस्थाको पूर्वस्वीकृति रोक्का

26
SHARES
मलेसिया रोजगारीमा आबद्ध २५ मुख्य संस्था छानबिनमा, २५० संस्थाको पूर्वस्वीकृति रोक्का

काठमाडौं । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तीव्र बनाएको छ । प्रणालीमा ‘मुख्य श्रमिक भर्ना संस्था’का रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थामाथि अनुसन्धान अघि बढाउँदै सरकारले उनीहरूको आबद्धता र गतिविधिबारे विवरण मागेको हो ।

वैदेशिक रोजगार विभागले ती २५ संस्थालाई एफडब्लूसीएमएससँगको आबद्धता निरन्तरता नदिन, प्रणालीबाट बाहिरिएको भए त्यसको तथ्यगत प्रमाण पेस गर्न र नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ । साथै, ती संस्थाका ‘आबद्ध’ वा ‘सहयोगी संस्था’का रूपमा सूचीकृत २५० वटा संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोकिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा विभागले यस्तो कदम चालेको हो । विभागले २५ मुख्य संस्थाले गर्दै आएको कारोबार, उनीहरू छनोटमा अपनाइएको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गराउँदा अपनाइएको प्रक्रियासहितका विषयमा अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, २५० आबद्ध तथा सहयोगी संस्थासँग पनि एफडब्लूसीएमएसमा जोडिनुको आधार, अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको छ । छानबिन तथा अध्ययन पूरा नभएसम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन पाउने छैनन् ।

सरकारले स्पष्ट पारेअनुसार पूर्वस्वीकृति रोक्का गर्ने निर्णय मलेसियाका लागि हुने नयाँ प्रक्रियामा मात्र लागू हुनेछ । यसअघि नै वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको हकमा भने यसको कुनै असर पर्ने छैन । त्यस्ता श्रमिकको मलेसिया जाने प्रक्रिया पूर्ववत् रूपमा अघि बढ्नेछ ।

विभागले वैदेशिक रोजगार व्यवसायमा निष्पक्ष प्रतिस्पर्धालाई प्रभावित पार्ने कुनै पनि संरचना वा गतिविधिमा संलग्न नहुन सम्बन्धित संस्थालाई सचेत गराएको छ । कुनै समूह वा संरचनासँग आबद्धता रहेको भए त्यसलाई तत्काल अन्त्य गर्न तथा श्रमिक छनोट र वैदेशिक रोजगार व्यवसायमा समूहगत नियन्त्रण, प्रतिस्पर्धा सीमित गर्ने वा एकाधिकार कायम गर्ने गतिविधि नगर्न निर्देशन दिइएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ बमोजिम जारी निर्देशन पालना गर्नु इजाजतपत्रप्राप्त संस्थाको दायित्व रहेको विभागले जनाएको छ । निर्देशन वा प्रचलित कानुन उल्लङ्घन गरेको पाइएमा ऐनको दफा ५४ लगायत अन्य कानुनी व्यवस्थाअनुसार कारबाही गरिने विभागको चेतावनी छ । आवश्यक परे इजाजतपत्र रद्दसम्मको कारबाही हुन सक्ने जनाइएको छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायमा पारदर्शिता, प्रतिस्पर्धा र समान अवसर कायम गर्ने प्रतिबद्धता जनाएको छ । छानबिनका क्रममा कुनै व्यक्ति वा संस्थाको गैरकानुनी संलग्नता, अवैध आर्थिक कारोबार वा प्रतिस्पर्धा नियन्त्रण गर्ने गतिविधि पुष्टि भएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

यसैबीच, मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई सरकार–सरकारबीचको संवादमार्फत समाधान गर्न नेपालले प्रशासनिक तथा कूटनीतिक पहल जारी राखेको छ । नेपालको कानुन र नेपाल–मलेसिया श्रम सम्झौताअनुसार श्रमिक पठाउने व्यवस्था सुनिश्चित गर्न मलेसिया सरकारसँग अनुरोध भइरहेको जनाइएको छ ।

सरकारले मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित, प्रतिस्पर्धात्मक र निर्बाध बनाउँदै सुरक्षित, मर्यादित तथा न्यायोचित वैदेशिक रोजगारीको वातावरण सुनिश्चित गर्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २८, आईतवार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP