मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला अधिकारको पूर्ण कार्यान्वयनमा सरकारको प्रतिबद्धता

338
SHARES
महिला अधिकारको पूर्ण कार्यान्वयनमा सरकारको प्रतिबद्धता

काठमाडौं । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् । साथै राज्यका सबै तह र निकायमा महिलाको समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।

उनले बालविवाह, छाउपडी, बोक्सी आरोप, दाइजो तथा तिलकजस्ता सामाजिक कुरीतिका साथै लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थामात्र पर्याप्त नभई सामाजिक चेतना विस्तार आवश्यक रहेको धारणा राखेका छन् । महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सरकार, समुदाय र सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाको क्षमता विकास र सशक्तीकरणमार्फत आत्मनिर्भर तथा समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । महिलामाथि हुने हिंसा, विभेद र शोषणका सबै स्वरूप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि महिला अधिकारको संरक्षण र लैङ्गिक समानताको लक्ष्य हासिल गर्न सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताएकी छन् ।

उनले संविधानले प्रदान गरेका अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न राज्य, समुदाय तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेकी छन् । महिला अधिकार केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित विषय नभई समान अवसर, सम्मानजनक सहभागिता र सामाजिक न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको मुद्दा भएको उनको भनाइ छ ।

यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसले महिलाको अधिकार सुनिश्चित गर्दै समानता र समृद्धितर्फको यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १६, शनिबार ०७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP