मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओमानमाथि नेपालको शानदार जित, लिग–२ मा लगातार दोस्रो सफलता

468
SHARES
ओमानमाथि नेपालको शानदार जित, लिग–२ मा लगातार दोस्रो सफलता

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । ब्याटिङमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै मंगलबार घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।

अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिँदा ओमानले लक्ष्यसम्म पुग्न सकेन ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाउँदै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, अन्य ब्याटरबाट उल्लेखनीय साथ नपाउँदा उनको प्रयास जितका लागि पर्याप्त हुन सकेन ।

ओमानले १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि विनायकले जय ओडेरासँग मिलेर सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ओडेरा २५ रन बनाएर आउट भएपछि ओमानको प्रतिरोध कमजोर बन्यो र टोली ठूलो हार बेहोर्न बाध्य भयो ।

नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । नन्दनले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे भने सन्दीपले नौ ओभरमा २८ रन दिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए । ६७ बल सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि अर्जुन कुमालले ४० रन बनाए भने बसिर अहमद र इशान पाण्डेले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएर टोलीको योगफल बढाउन योगदान गरे ।

नेपालको इनिङ्सलाई अन्त्यतिर करण केसीले आक्रामक रूप दिएका थिए । उनले केवल १६ बलमा ४० रन प्रहार गर्दै ओमानका बलरमाथि दबाब सिर्जना गरे । करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । त्यसपछि अन्तिम ओभरमा शाह फेसलको बलमा पनि छक्का प्रहार गर्दै उनले नेपालको स्कोरलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याए ।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए। हस्नेन शाहले एक विकेट हात पारे ।

यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार्ने प्रयास जारी राखेको छ । ३४ खेलबाट २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा कायम छ ।

नेपालका लागि ओमानविरुद्धको यो जित शृङ्खलामा लगातार दोस्रो सफलता हो । अब नेपालले आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । लगातार दुई जितले उत्साहित नेपाली टोली आगामी खेलमा पनि जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २७, मंगलवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP