मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राखेपभित्र अवैधानिक क्यान्टिन र अनियन्त्रित गतिविधि: खेलाडीको स्वास्थ्य र संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न

6.5K
SHARES
राखेपभित्र अवैधानिक क्यान्टिन र अनियन्त्रित गतिविधि: खेलाडीको स्वास्थ्य र संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न

काठमान्डु । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भवन दुरुपयोग गरी कर्मचारीको आडमा अवैधानिक क्यान्टिन सञ्चालन भइरहेको तथ्य खुलेपछि संस्थाको कार्यशैली पुनः विवादमा तानिएको छ । बोलपत्र (टेन्डर) मार्फत कानुनी रुपमा क्यान्टिन सञ्चालन हुँदै आएको छ । तर त्यसकै विरुद्ध नियम, प्रक्रिया र सरकारी कागजातविनै अर्को चमेनागृह सञ्चालनमा रहेको पाइएको छ ।

दुई क्यान्टिन, एक वैधानिक—अर्को अवैधानिक
राखेप परिसरमा एक क्यान्टिन बोलपत्र प्रक्रियाबाट सञ्चालित छ, जसले बैंक ग्यारेन्टी राखेर करारअन्तर्गत सेवा दिइरहेको छ । तर सोही बीच अर्को भवनमा कर्मचारीको मिलेमतोमा कुनै प्रक्रिया नअपनाई अवैधानिक रूपमा क्यान्टिन चलेको स्रोतहरू बताउँछन् । उक्त अवैधानिक चमेनागृहले भवन प्रयोगबापत एक रुपैयाँ पनि तिरेको छैन, जसले राज्यलाई राजस्व हानीको अवस्था सिर्जना गरेको छ ।

वैधानिक रूपमा सञ्चालनमा रहेको क्यान्टिनले आफ्नो लगानी र करार जोगाउन सक्न नसक्ने अवस्था बनेको गुनासो संचालकहरूको छ । नियमविपरीत सञ्चालन भएको अर्को क्यान्टिनले उनीहरूको व्यवसायमै असर पारेको हो ।

निषेधित वस्तु बिक्री–वितरणले खेलाडीको स्वास्थ्य जोखिममा
राखेपभित्रै सञ्चालनमा रहेको अवैधानिक चमेनागृहमा मदिरा, सुर्तीजन्य पदार्थ र धुम्रपान सामग्री खुलेआम बिक्री भएको आरोप छ । खेलाडीहरू दैनिक प्रयोग गर्ने स्थानमा यस्ता निषेधित बस्तु उपलब्ध हुनु यस संस्थाको जिम्मेवारीप्रति गम्भीर प्रश्न हो ।

राखेपकै केही कर्मचारी र सेवाग्राहीले मदिरा र सुर्तीजन्य सामग्रीले खेलाडीको स्वास्थ्यमाथि खतरा बढाएको भन्दै कडाइको माग गरेका छन् । “देशकै ठूलो खेलकुद प्रतियोगिताका लागि गुणस्तरीय खानपान महत्वपूर्ण हुन्छ, तर राखेपले नै खेलाडीको आवश्यकतालाई बेवास्ता गरिरहेको देखिन्छ,” एक कर्मचारीले भने ।

कर्मचारी–अधिकृतको मिलेमतोको आरोप
अवैधानिक क्यान्टिनलाई रोक्नुपर्नेमा राखेप नेतृत्व मौन बसेको आरोप कर्मचारी र खेलसम्बद्ध व्यक्तिहरूले लगाएका छन् । केहीले यो अनियमितता कर्मचारी तथा निकट व्यक्तिहरूको मिलेमतोमै भइरहेको दाबी गरेका छन् ।

एक कर्मचारी भन्छन्, “राखेपले खेलकुदभन्दा बढी आफ्ना मान्छेलाई सुविधा दिने काम गरिरहेको छ । निर्णयबिनै क्यान्टिन खोल्न दिनुले संस्थामै अनियमितता प्रोत्साहन भइरहेको देखिन्छ ।”

परिषद्का चालक परिवारमार्फत सुर्तीजन्य पदार्थ बिक्री
राखेपमा कार्यरत केही सवारी चालकका परिवारले नाङ्लोमा चुरोट, खैनी, सुर्तीजन्य पदार्थ राखेर परिषद् वरपर खुला रूपमा बिक्री गर्ने गरेको पाइएको छ । केही व्यक्तिहरूले यस्तो कार्य रोक्नुपर्ने माग गरे पनि प्रशासन मौन रहेको गुनासो छ ।

स्थानिय सेवाग्राही बिन्दु खनाल भन्छिन्, “अस्पताल नजिकैको क्षेत्रमा यस्ता सामग्री बेच्न परिषद्का कर्मचारीकै मिलेमतो नहुँदो होइन् । यसले राखेपको चरित्र नै खराब बनाइरहेको छ ।”

नेतृत्व मौन, पारदर्शिता कमजोर
राखेपमा निर्णयहरू सदस्य–सचिव र मन्त्रीले एकलौटी रूपमा लिने गरेको आरोप पनि उठेको छ । कर्मचारीहरूका अनुसार अनुशासनहीनता र आन्तरिक मिलेमतोले संस्थामा दीर्घकालीन समस्याहरू जन्माइरहेको छ ।

सरकार र सरोकारवाला निकायको हस्तक्षेप आवश्यक
प्रधानमन्त्री सुशीला कार्की संरक्षक रहेको र खेलकुदमन्त्री बब्लु गुप्ताले नेतृत्व गर्ने मन्त्रालयले शुक्रबारसम्म पनि यसबारे कुनै स्पष्ट कदम नचालेको आलोचना भइरहेको छ । सरोकारवालाहरू भन्छन्, “अवैधानिक क्यान्टिन बन्द गरी राखेपभित्र स्थापित अनियमितता रोक्न सरकार सक्रिय हुनैपर्छ ।”

नेपालका ३० भन्दा बढी खेलहरूको तयारी, प्रशिक्षण र पोषणको जिम्मेवारी राखेपमा रहेको हुँदा यस्ता अनियमितता रोक्न नसकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठामै असर पर्ने चेतावनी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP