मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको प्रभाव कायम, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

1.6K
SHARES
पश्चिमी वायुको प्रभाव कायम, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव निरन्तर सक्रिय रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै धेरैजसो स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना समेत रहेको विभागको भनाइ छ ।

यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा भएको थियो, जसका कारण जनजीवन केही दिन प्रभावित बनेको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिउँसमेत परेको र त्यसले यातायात तथा पर्यटन गतिविधिमा असर पारेको जनाइएको छ ।

हिमपातकै कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा १३ जना आन्तरिक तथा विदेशी पर्यटक अलपत्र परेका थिए । उनीहरूको उद्धार सशस्त्र प्रहरी बल अन्तर्गतको पर्वतीय उद्धार तालिम केन्द्र, मनाङको टोलीले गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको अभिलेख गरिएको थियो । तीमध्ये १८५ केन्द्रमा उल्लेख्य मात्रामा वर्षा मापन भएको हो ।

सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहरमा ७१.१ मिलिमिटर रेकर्ड गरिएको थियो भने चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १७, सोमबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP