मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आफताब आलमको मुद्दामा पुनरावेदन गर्न रास्वपा सांसद सुमना श्रेष्ठको आग्रह

2.1K
SHARES
आफताब आलमको मुद्दामा पुनरावेदन गर्न रास्वपा सांसद सुमना श्रेष्ठको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पूर्वमन्त्री आफताब आलमसम्बन्धी मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै महान्यायाधिवक्तालाई पत्र लेखेकी छन् ।

आइतबार पठाएको पत्रमा उनले २०६४ सालको चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटसँग सम्बन्धित मुद्दामा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अभियुक्तहरूलाई सफाइ दिएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

उक्त इजलासका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनले जेठ १४ गते आलमसहित चार जनालाई दोषमुक्त ठहर गरेका थिए । पछिल्लो साता फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सांसद श्रेष्ठले प्रतिक्रिया दिँदै उक्त निर्णयमाथि पुनरावेदन आवश्यक रहेको बताएकी हुन् ।

पत्रमा श्रेष्ठले लेखेकी छन्, ‘राजनीतिक व्यक्ति संलग्न आपराधिक घटनाको विषयमा सर्वोच्च अदालतको आदेशपछि मात्र मुद्दा अगाडि बढाइएको थियो । एक दशकपछि सुरु गरिएको मुद्दामा अब आएर उच्च अदालतबाट अभियुक्तहरूलाई सफाइ दिनु अत्यन्त अनपेक्षित निर्णय हो ।’ उनले यो फैसलाले पीडित परिवार र आमनागरिकलाई गम्भीर रूपमा मर्माहत र आक्रोशित बनाएको बताएकी छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनताका रौतहटमा आफताब आलममाथि बम बनाउने क्रममा विस्फोट गराई घाइते भएका त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरलाई इँट्टाभट्टामा जलाएको आरोप लागेको थियो ।

मृतक पिन्टुका पिता श्रीनारायण सिंह र ओसीकी आमा रोक्साना खातुनसहित अन्य व्यक्तिहरूले आलमविरुद्ध जाहेरी दिएका थिए । प्रारम्भिक चरणमा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

तर, उच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै बम विस्फोट भएको प्रमाण पर्याप्त नभएको ठहर गर्दै सफाइ दिएको हो ।

सांसद श्रेष्ठको मागअनुसार, आलमविरुद्धको फैसलामा पुनरावेदन गर्ने कि नगर्ने भन्ने निर्णय अब महान्यायाधिवक्ताको कोर्टमा पुगेको छ । राजनीतिक संवेदनशीलता र सार्वजनिक चासो भएको मुद्दामा न्याय प्रणालीको आगामी कदमलाई सवैले चासोपूर्वक हेरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १५, आईतवार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP