मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केदार सङ्केतको कथा सङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

3.6K
SHARES
केदार सङ्केतको कथा सङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

ललितपुर । कवि तथा यात्रा–स्पर्श अभियन्ता केदार सङ्केतको नवौँ कृति कथा सङ्ग्रह ‘अन्तिम साँझ’ ललितपुरको मानभवनस्थित अइला लन्जमा लोकार्पण गरिएको छ । गमलाको विरुवामा पानी चढाउँदै पछिल्लो समय विश्वव्यापी रूपमा फैलिँदै गएको क्लाइ–फाइ (जलवायु–कथात्मक) साहित्यिक प्रवृत्ति अर्थात् मुक्दुमि (प्रकृति) पथप्रति साङ्केतिक समर्थनसहित बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लगायत स्रष्टाहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।

मिलाप पब्लिकेसनद्वारा प्रकाशित ‘अन्तिम साँझ’ कथा सङ्ग्रहमा पहिचानजन्य तथा समसामयिक विषयवस्तु समेटिएका १५ वटा कथाहरू सङ्ग्रहित छन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले साहित्यजस्तो विशुद्ध क्षेत्रमा पनि धेरै सशक्त लेखकहरू गुमनाम रहने गरेको गुनासो व्यक्त गरे । उनले भर्खरै सम्पन्न १२खरी कथा प्रतियोगितामा प्रथम पुरस्कार जित्ने युवा कथाकारको उदाहरण दिँदै प्रविधिको युगले कहिल्यै नसुनिएका, नचिनिएका साहित्यकारलाई एउटै कथाले चिनाउन सक्ने बताए । तर त्यसका लागि मिहिनेत र धैर्य आवश्यक पर्ने उनको भनाइ थियो ।

कथाकार केदार सङ्केतबारे धारणा राख्दै उनले भने, “भानुभक्त आचार्य सबैले चिन्छन्, तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथलाई धेरैले चिन्दैनन् । कारण भानुभक्तका पछाडि मतिराम भट्ट थिए । चर्चा गरुन् वा नगरुन्, समुद्र जस्तै स्रष्टा आफ्नो गहिराइमै स्थिर रहन्छ । केदार सङ्केत पनि त्यस्तै हुन् । ‘अन्तिम साँझ’ले उनलाई समुद्र बनाइदिएको छ ।”

कथा सङ्ग्रहको समालोचनात्मक चिरफार गर्दै साहित्यकार प्रगति राईले पुस्तकका अधिकांश कथाहरू रहस्यमय रहेको बताइन् । ‘सुनकोशी’ कथाले सुनुवार जातिको इतिहास मात्र होइन, आम नेपाली समाजका यथार्थ घटनालाई पनि उत्खनन गरेको उनको भनाइ थियो । शीर्षक कथा ‘अन्तिम साँझ’ ले युद्धले समाजमा पारेको पीडा मार्मिक रूपमा चित्रण गरेको उल्लेख गर्दै उनले कतिपय ठाउँमा कथालाई अनावश्यक रूपमा लम्ब्याइएको अनुभूति भएको सुझाव पनि दिइन् ।

त्यसैगरी समीक्षक सन्तोष श्रेष्ठले साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै प्रक्रिया भएको टिप्पणी गरे । उनले कथा सङ्ग्रहको १२औँ कथाले आध्यात्मिक चेतना र शान्तिको खोजी प्रस्तुत गरेको बताउँदै केदार सङ्केतका कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रामा लैजाने विश्वास व्यक्त गरे ।

सबै शुभेच्छा र समीक्षापछि आफ्नो धारणा राख्दै कथाकार केदार सङ्केतले आफ्ना कथाका पात्रहरूसँग आफूले गहिरो संवाद गरेको र अन्ततः सबै पात्रलाई आफ्नै जन्मभूमितर्फ फर्काएको बताए । उनले पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार ख्यामनाथ दाहालले सबै कथाको शीर्षकगत छोटो समीक्षा गर्दै निष्कर्षमा मानिस अन्ततः आफ्नै संस्कारमा फर्किने बताए । “गीताको ‘स्वधर्मे निधनं श्रेयः’ जस्तै केदार सङ्केत जहाँ पुगे पनि आफ्नै संस्कृति र संस्कारप्रति फर्किन्छन् भन्ने कुरा ‘सुनकोशी’ कथाले स्पष्ट गर्छ,” उनले भने ।

कार्यक्रमको औपचारिक स्वागत भाषा सम्पादक रमेश दाहालले गरेका थिए भने प्रकाशक तथा सम्पादक गीता अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रतिक घिमिरे र उत्तमकुमार सुनुवारले कथा सङ्ग्रहले नेपाली कथा–प्रेमीको मन जित्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नेपालीपन झल्किने मौलिक कृतिको अपेक्षा गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १४, सोमबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP