मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘दुई करोड रुपियाँ र सुरक्षाकर्मीबारेका दाबी प्रमाणित गर्न चुनौती’

1.1K
SHARES
‘दुई करोड रुपियाँ र सुरक्षाकर्मीबारेका दाबी प्रमाणित गर्न चुनौती’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रचण्ड र उनका परिवारका सदस्यहरूलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएको समाचार तथा सामग्रीप्रति कडा आपत्ति जनाएको छ । सचिवालयले ती सामग्रीलाई तथ्यहीन, नियोजित र चरित्रहत्या गर्ने उद्देश्यका साथ प्रसारित गरिएको भन्दै भत्र्सना गरेको छ ।

सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार संकटको संवेदनशील घडीमा नेतृत्वविरुद्ध पूर्वाग्रही ढंगले गरिएका टिप्पणी र सामग्रीहरूले लोकतान्त्रिक अभ्यास र प्रेस आचारसंहिताको खुल्लमखुल्ला उल्लंघन गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक व्यवस्था र पत्रकार आचारसंहिता कुनै पनि व्यक्तिमाथि गालीगलौज, मानहानी र चरित्रहत्या गर्न अनुमति दिँदैन । तर पछिल्ला सामग्रीहरूमा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोणलाई पूर्ण रूपमा अवमूल्यन गरिएको छ ।”

‘दुई करोड रुपियाँ र सुरक्षाकर्मीबारेका दाबी प्रमाणित गर्न चुनौती’
सचिवालयले जेनजी आन्दोलन अघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको आरोपलाई निराधार र भ्रामक ठहर गर्दै प्रमाणसहित सार्वजनिक गर्न सम्बन्धित पक्षलाई चुनौती दिएको छ ।

यस्तै, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भनाइलाई समेत सचिवालयले असत्य दाबी गरेको छ ।

साइबर कानुनअनुसार कारबाहीको माग
डिजिटल माध्यममार्फत भएका ती किसिमका गलत प्रचार–प्रसार साइबर कानुनविपरीत रहेको उल्लेख गर्दै सचिवालयले अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । सचिवालयले भ्रामक समाचार वा सामग्री प्रवाह गर्ने सञ्चार माध्यम तथा व्यक्तिहरूमाथि सम्पूर्ण जिम्मेवारी उनीहरू स्वयं उठाउनुपर्ने चेतावनी दिएको छ ।

सचिवालयले आम नागरिकलाई यस्ता तत्वहरूले फैलाउन खोजेको ‘भ्रामक कुप्रचारको भ्रममा नपर्न’ अपिल गर्दै भविष्यमा यस्ता असत्य र दुरासयपूर्ण सामग्री प्रकाशित वा प्रसारित भएमा कडा रूपमा सामना गर्ने स्पष्ट संकेत दिएको छ ।

यस्तो छ सचिवालयको प्रेस नोट:

प्रेस नोट

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित/प्रसारित समाचार तथा सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं ।
हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ । त्यसैगरी कुनै पनि संचार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो । तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ ।
हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।
साथै, डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं । भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहने स्पष्ट गर्दै यसखालका भ्रामक कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायसँग हार्दिक अपिल गर्दर्छौं ।

मितिः २०८२ असोज २६ गते

गोविन्द आचार्य
संयोजक कमरेड प्रचण्डको सचिवालयको तर्फबाट



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार ०६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP