मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन जेड पुस्ताको सरकारविरुद्धको प्रदर्शन आज, बेथिति र प्रतिबन्धको विरोधमा उत्रिँदै

2.2K
SHARES
जेन जेड पुस्ताको सरकारविरुद्धको प्रदर्शन आज, बेथिति र प्रतिबन्धको विरोधमा उत्रिँदै

काठमाडौं । जेन जेड पुस्ताले आज (सोमबार) बिहान ११ बजेदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दैछ । सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रणको विरोधमा आयोजना गरिएको यो प्रदर्शनको लागि स्थानीय प्रशासनले अनुमति दिएको छ ।

प्रदर्शनको नेतृत्व गरिरहेका युवाहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, कानुनी र जिम्मेवार हुने बताएका छन् । उनीहरूले आन्दोलनमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउने, पारदर्शिता सुनिश्चित गर्ने र राजनीतिक हस्तक्षेपबाट प्रशासनलाई स्वतन्त्र बनाउने लक्ष्य राखेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “हामी कुनै पार्टीको स्वार्थमा होइन, राष्ट्रको भविष्यको लागि उभिएका हौं । हाम्रो शक्ति सत्य, सृजनशीलता र एकतामा निहित छ ।”

आन्दोलनकारीहरूले सहभागी सबैलाई शान्ति र अनुशासनमा बस्न आह्वान गरेका छन् । हिंसा, तोडफोड वा अव्यवस्था नगर्न स्पष्ट आग्रह गरिएको छ । उनीहरूका अनुसार यस्तो जिम्मेवार आन्दोलनबाट मात्र न्याय, शान्ति र दीर्घकालीन विकास सम्भव छ ।

राजनीतिक हस्तक्षेप नहोस्ः आन्दोलनकारीको चेतावनी
प्रदर्शनका आयोजकहरूले कुनै पनि राजनीतिक दल वा नेताहरूलाई यो आन्दोलन आफ्नो लाभका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूका अनुसार यो आन्दोलन न त कुनै पार्टीको समर्थनमा हो, न त विरोधमा—यो जनताको अधिकार र भावी पुस्ताको भविष्यको लागि हो ।

मानवअधिकार उल्लङ्घन भयो भने सरकार जिम्मेवार हुने
जेन जेड पुस्ताले सरकार र सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न माग गरेका छन् । यदि आन्दोलनमाथि बल प्रयोग वा दमन गरिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारलाई हुनेछ भन्ने स्पष्ट सन्देश दिएका छन् ।

उनीहरूले यस्तो दमनलाई मानवअधिकार उल्लङ्घनको रूपमा लिने चेतावनीसमेत दिएका छन् ।

देशमा निरन्तर बढ्दो भ्रष्टाचार, उत्तरदायित्वको अभाव र अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुशको विरोधमा उत्रिएका जेन जेड (जी) पुस्ताको यो प्रदर्शन सचेत नागरिकहरूको आवाज हो । आन्दोलनको स्वरूप शान्तिपूर्ण भए पनि यसको उद्देश्य गम्भीर छ— उत्तरदायी सरकार, पारदर्शी प्रशासन र स्वतन्त्र अभिव्यक्ति ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP