मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षाले महोत्तरीका किसानलाई दिएको सासः रोपाइँमा आशा पलायो

2.4K
SHARES
वर्षाले महोत्तरीका किसानलाई दिएको सासः रोपाइँमा आशा पलायो

महोत्तरी । लामो खडेरीले पीडित बनेका महोत्तरीका किसानहरू हालैको वर्षापछि राहतको सास फेर्न थालेका छन् । सोमबारदेखि लगातार परेको पानीले उनीहरूमा रोपाइँ सुरु गर्ने र बाली बचाउने आशा पलाएको छ ।

जिल्लाका अधिकांश स्थानमा गएराति प्रशस्त पानी परेपछि माटोमा चिस्यान भरिएको छ । यसअघि बिहीबार र सोमबार पनि पानी परेको थियो । भङ्गाहा–३ का किसान विजय यादवका अनुसार पछिल्ला वर्षाले उनीहरूले इनार, बोरिङ र स्यालो ट्युबवेलमार्फत पम्पसेट लगाएर रोपेको धानमा नयाँ जीवन आएको छ । “धान उठ्ने सम्भावना बलियो भएको छ,” उनले भने ।

तीन दिनको झरीले नयाँ रोपाइँ तीव्र नभए पनि पहिले रोपिएको धानलाई चाहिएको चिस्यान मिलेको किसानहरू बताउँछन् । बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो भन्छन्, “पहिले घामले पहेँलिएको रोपो पानी परेपछि फेरिएको छ ।”

भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइनले भने, “खडेरीले सुक्दै गएको उखुमा अहिले पानीको जादु लागेको जस्तो छ, बोटहरू फेरिँदै छन् ।” उनका अनुसार धान मात्र नभएर उखु, मकै, कोदो र तरकारी बालीमा समेत चिस्यान पुगेको छ ।

तर किसानहरूका अनुसार धानको रोपो राम्रोसँग जाग्न अझै पनि गह्रामा पर्याप्त पानी भरिन आवश्यक छ । यसपालिको खडेरीले धान रोपाइँको समय नै पछि सारेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा ४२ हजार ५०० हेक्टर धानयोग्य जमिन भए पनि साउनको तेस्रो सातासम्म जम्मा ३५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

यद्यपि, केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले पछिल्ला वर्षाले पहिले रोपिएको धानका लागि ठूलो राहत भएको बताएका छन् । उनका अनुसार अझै पानी परे रोपाइँको गति पनि बढ्ने अपेक्षा गर्न सकिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १७, शनिबार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP