मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेलको आह्वान : ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरौँ

2.9K
SHARES
राष्ट्रपति पौडेलको आह्वान : ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरौँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने अन्य विकल्प नभएकाले आमसहमतिको बाटो अपनाएर संकटको निकास दिइएको उनले स्पष्ट पारे।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा राष्ट्रपति भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल, प्रशासनिक निकाय, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्वलाई त्यागेर सहकार्य र समन्वयमार्फत निर्वाचन सफल बनाउन आग्रह गरे ।

राष्ट्रपति पौडेलले संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता मात्र होइन, जात–धर्म–सम्प्रदायका आधारमा समान हक पनि दिएको उल्लेख गरे ।
‘हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ, यो हाम्रो युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गर्नुपर्छ,’ उनले भने ।

पौडेलले लोकतन्त्र निरन्तर बलियो बनाउन प्रत्येक पुस्ताको सक्रियता आवश्यक रहेको बताए । उनले २०१७ सालमा १७ वर्षको उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै अहिलेको कठिन परिस्थितिलाई सुझबुझ र सहकार्यका कारण नियन्त्रण गर्न सम्भव भएको बताए ।

‘हामी लोकतन्त्र, सुशासन र नागरिक–केन्द्रित शासनप्रति प्रतिबद्ध रहनेछौँ,’ उनले संविधान दिवसकै दिनमा सबैलाई संकल्प गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको यात्रामा अगाडि बढेको दाबी गरे । ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।

उनका अनुसार अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।

हालैको दुई दिनको विरोध प्रदर्शनले मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जीवन गुमाएका युवाप्रति गहिरो संवेदना व्यक्त गरे । ‘अभिभावकको नाताले म ती परिवारको पीडा अनुभव गर्न सक्छु,’ उनले भने, ‘आज संविधान दिवसकै दिन म भदौ २३ गते सडकमा उत्रेका युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु ।’



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ११:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP