मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणेश नेपाली प्रकरण: परिवार र सरकारबीच ९ बुँदे सहमति, छानबिनदेखि राहतसम्मका निर्णय

546
SHARES
गणेश नेपाली प्रकरण: परिवार र सरकारबीच ९ बुँदे सहमति, छानबिनदेखि राहतसम्मका निर्णय

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच नौबुँदे सहमति भएको छ । सहमतिपछि घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत, आश्रित परिवारको संरक्षण तथा दोषीमाथि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्ष एकमत भएका हुन् ।

सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको सात दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई नेपाल सरकारलाई प्रतिवेदन बुझाउने व्यवस्था गरिएको छ । प्राप्त प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णय अघि बढाइने जनाइएको छ ।

मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा पनि सहमति भएको छ । यसका लागि विद्यमान कानुन, विगतका नजिर तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ । उनीहरूमाथिको अन्तिम निर्णय भने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा हुनेछ ।

पीडित परिवारको जीविकोपार्जनलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराउने निर्णय गरिने भएको छ । त्यस्तै, मृतककी छोरीको उच्च शिक्षासम्म लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइने सहमतिमा उल्लेख छ ।

यसैगरी, मृतकका आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त आर्थिक सहायता उपलब्ध गराउने विषय पनि महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गरिनेछ । अन्त्येष्टि तथा काठमाडौंमा गरिने काजक्रियासम्बन्धी सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि महानगरपालिकाले लिने भएको छ ।

सहमतिअनुसार पीडित परिवारले मृतकको शव बुझ्ने, पोस्टमार्टमसहितका सबै कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, काठमाडौंमा काजक्रियाको अवधिभर मृतकका एकाघरका परिवारजनको बसोबास र अन्य आवश्यक खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ ।

यसका अतिरिक्त मृतकका एकाघरका परिवारको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने सहमतिमा उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २८, आईतवार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP