मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशनमा खेलकुद क्षेत्रका उम्मेदवारप्रति विशेष चासो

4.3K
SHARES
एमाले ११औँ महाधिवेशनमा खेलकुद क्षेत्रका उम्मेदवारप्रति विशेष चासो

काठमान्डु । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खेलकुद क्षेत्रसँग सरोकार राख्ने नेताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । पार्टीको नेतृत्व चयनसँगै खेलकुद क्षेत्रको भावी दिशा कस्तो हुने भन्ने चासो पनि महाधिवेशनमा उठ्न थालेको छ ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका पूर्व महासचिव मेघराज पौडेल र हालका अध्यक्ष रमेश पौडेल केन्द्रीय सदस्यका आकाङ्क्षी छन् । लामो समयदेखि एमाले केन्द्रीय सदस्य रहँदै आएका रमेश पौडेल सत्ताको दुरुपयोग नगर्ने, खेल भावना र निष्पक्षतालाई आत्मसात् गर्ने नेताका रूपमा परिचित छन् । राजनीतिक चलखेलभन्दा पनि संस्थागत विकासमा जोड दिनुपर्ने उनको धारणा रहँदै आएको छ । मेघराज पौडेलले पनि नेपालमा साहसिक तथा पर्यटकीय खेलको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । हाल उनी एमालेको खेलकुद विभागमा सक्रिय छन् ।

बाग्मती प्रदेशका पूर्वमन्त्री एकलाल श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी छन् । उनी चेस क्षेत्रमा प्रत्यक्ष योगदानबिनै महासचिव र अध्यक्ष बनेको आरोप लाग्दै आएको छ । चेससम्बन्धी ज्ञान र अनुभव कमजोर भए पनि ओलम्पियाडमा टिम कप्तान बनेका कारण त्यसबेला नेपाली टोली विवादमा परेको थियो । अभद्र व्यवहार र राजनीतिक आडमा पद दुरुपयोग गरेको आरोपका कारण उनी आलोचनामा परेका थिए ।

यस्तै, कोशी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेतको भूमिकाप्रति पनि प्रश्न उठिरहेका छन् । केही वर्षअघि विराटनगरमा भएको साधारण सभाबाट नेतृत्व चयन हुन नसकेपछि बस्नेतलाई ‘टिका लगाएर’ अध्यक्ष बनाइएको आरोप छ । त्यसयता अध्यक्ष बस्नेत र महासचिव धरमबहादुर लामाले आफ्नै सङ्गठनका केही व्यक्तिमाथि पूर्वाग्रही व्यवहार र ज्यादती गरेको गुनासो तल्लो तहका कार्यकर्ताले गर्दै आएका छन् ।

लामो समय नेपाल खेलकुद महासङ्घको अध्यक्ष तथा पूर्व युवा तथा खेलकुद मन्त्री रहेका पुरुषोत्तम पौडेल यसपटक केन्द्रीय कमिटी सचिवका उम्मेदवार बनेका छन् । सरल स्वभावका पौडेल शक्तिको दुरुपयोग, भ्रष्टाचार वा अकुत सम्पत्ति कमाउने नेताको सूचीमा नपर्ने व्यक्तित्वका रूपमा चिनिन्छन् ।

नेपाल स्की सङ्घको नेतृत्व तहमा लामो समय सक्रिय शान्तमाया परियार पनि केन्द्रीय सदस्यकी आकाङ्क्षी हुन् । शालीन, बौद्धिक र सन्तुलित व्यक्तित्वको छवि बनाएकी परियार मनाङ क्षेत्रको राजनीतिमा समेत लोकप्रिय मानिन्छिन् ।

यसैबीच, लामो समय एमाले खेलकुद इन्चार्ज रहेका कर्णबहादुर थापा पनि महाधिवेशनमा चर्चामा छन् । आफ्नो राजनीतिक जीवनको ठूलो समय केपी शर्मा ओलीनिकट रहे पनि हाल उनी ओलीविरोधी धारका अगुवाका रूपमा देखिएका छन् । थापा ईश्वर पोखरेल प्यानलबाट सचिव पदका उम्मेदवार हुने सम्भावना बलियो रहेको बताइन्छ ।

महाधिवेशनले खेलकुद क्षेत्रसँग सम्बन्धित यस्ता पात्रहरूको भविष्य तय गर्ने भएकाले खेलकुदकर्मी र पार्टी कार्यकर्ताको चासो बढ्दो छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP