मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जयदेव गौतमको ‘किताबको अँगालोमा’ लोकार्पण

1.7K
SHARES
जयदेव गौतमको ‘किताबको अँगालोमा’ लोकार्पण

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार जयदेव गौतमद्वारा लेखिएको समीक्षा–संग्रह ‘किताबको अँगालोमा’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।

समारोहमा प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराई, समालोचक गीता त्रिपाठी, प्रमोद प्रधान, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लगायत स्रष्टाहरूको उल्लेखनीय उपस्थिति थियो ।

कृति सार्वजनिक गर्दै डा. भट्टराईले लेखक गौतमको लेखकीय निर्भीकता र भाषिक शुद्धता उच्च प्रशंसायोग्य रहेको धारणा राखे । ‘गौतमको समीक्षामा न त आग्रह छ, न पूर्वाग्रह । शुद्ध नेपालीमा लेखिएका ती टिप्पणीहरू साहित्यिक मूल्यांकनको उत्कृष्ट उदाहरण हुन्,’ उनले भने ।

कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले ‘किताबको अँगालोमा’ले लेखकको अध्यवसाय, अध्ययनशीलता र समर्पण स्पष्ट रूपमा देखाएको बताइन् । ‘यो कृति केवल पुस्तकको समीक्षा होइन, समग्र नेपाली साहित्यको चलनचल्ती र प्रवृत्तिप्रति लेखकको तर्कशील दृष्टिकोण पनि हो,’ उनले भनिन् ।

लेखकका पुराना सहयात्री र समीक्षक प्रमोद प्रधानले गौतमसँग चार दशक लामो सहकार्यको अनुभव सुनाउँदै भने, ‘गौतमको लेखाइमा अलिकति पनि लोच छैन । उनी जे लेख्छन्, सिधै लेख्छन् । त्यसैले उनका शब्दहरू बलिया लाग्छन् ।’

कार्यक्रममा लेखकका आफन्त विजय थापाले अमेरिका निवासी लेखकको तर्फबाट पठाइएको मन्तव्य वाचन गरे । मन्तव्यमा गौतमले पुस्तकलाई आफ्नो ‘पठन यात्राको अनुभूति’को दस्तावेज भन्दै पाठकहरूसँग संवादको माध्यम बनाउने आशा व्यक्त गरेका थिए ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखकीय निरन्तरताको सन्दर्भमा गौतमको उदाहरणीयता उल्लेख गरे । ‘शारीरिक रूपमा अस्वस्थ भए पनि गौतम कहिल्यै लेखनबाट बिरामी भएनन् । उनले कलम छाडेनन्, कलमले पनि उनलाई कहिल्यै छाडेन,’ उनले भने ।

नेपाली साहित्यमा समालोचनात्मक चेतनाको महत्व झल्काउने यस कृतिमा पछिल्लो समय प्रकाशित चर्चित कृतिहरूको समीक्षा समावेश गरिएको छ । लेखकले न केवल सन्दर्भ र संरचना विश्लेषण गरेका छन्, बरु साहित्यिक सौन्दर्यबोध र मूल्यांकनका मापदण्डहरू पनि स्पष्ट पारेका छन् ।

सुन्दर स्वदेश पब्लिकेशनबाट प्रकाशित ‘किताबको अँगालोमा’ समीक्षक, शोधकर्ता र साहित्यप्रेमी पाठकहरूका लागि उपयोगी कृति हुने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP