मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा ‘सिजाङ सांस्कृतिक सप्ताह’ सुरु, नेपाल–चीन सम्बन्धको ७० वर्षमा उत्सव

3.1K
SHARES
काठमाडौंमा ‘सिजाङ सांस्कृतिक सप्ताह’ सुरु, नेपाल–चीन सम्बन्धको ७० वर्षमा उत्सव

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौंमा ‘सिजाङ सांस्कृतिक सप्ताह’ सुरु भएको छ । एक सातासम्म चल्ने यो सांस्कृतिक उत्सव चीनको सिजाङ मिडिया ग्रुपको आयोजनामा होटल याक एन्ड यतिमा सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले संयुक्त रूपमा गरे ।

सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा
उद्घाटन समारोहमा उपाध्यक्ष घिमिरेले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक नभई ऐतिहासिक, सांस्कृतिक र जनस्तरीय बन्धनमा आधारित रहेको बताइन् । उनका अनुसार, भृकुटीले तिब्बतमा गरेको विवाह, नेपाली चित्रकारको योगदान र नेपालको व्यापारिक पहिचानजस्ता पक्षले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै ल्याएको छ ।

‘सांस्कृतिक सप्ताहले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ,’ उनले भनिन्, ‘नेपाल–चीन सम्बन्ध साझा धर्म, सभ्यता र जनजीवनमा आधारित अमूल्य साझेदारी हो ।’

राजदूत छन सोङको जोड— विकास र समृद्धिको साझेदारी
चीनका राजदूत छन सोङले चीन आर्थिक समृद्धिको दिशामा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरे । उनले नेपाल–चीनबीच विविध सांस्कृतिक, धार्मिक र सभ्यतागत आदान–प्रदान हुँदै आएको इतिहास स्मरण गर्दै भने, ‘हामीले गौतम बुद्धका उपदेशलाई साझा गर्दै, संस्कृति साटासाट गर्दै हिमाल–नदीमार्फत आत्मीय सम्बन्धलाई सुदृढ गर्दै आएका छौँ ।’

उनका अनुसार, सन् १९५५ मा स्थापना भएको नेपाल–चीन कूटनीतिक सम्बन्ध आज ७० वर्षपछि नयाँ ऊर्जाका साथ विस्तार भइरहेको छ ।

‘साझा सम्पर्कका दुई हजार वर्ष’ —लो च्युन
सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीचको सम्बन्ध केवल केही दशकको नभई झण्डै दुई हजार वर्ष लामो सांस्कृतिक सम्पर्कमा आधारित रहेको बताए ।

उनले जनस्तरमा भएको सांस्कृतिक, व्यापारिक र पर्यटकीय सम्बन्धले दुई देशबीचको आत्मीयता अझ सघन बनाएको बताए ।

‘नेपाल र चीनको सम्बन्ध समयको सीमामा बाँधिने होइन, यो सम्बन्ध सधैँ यस्तै प्रगाढ रहिरहोस् भन्ने शुभेक्षा राख्छु,’ उनले भने ।

पहिलोपटक सिजाङ संस्कृति नेपालमा
तिब्बतलाई चिनियाँ भाषामा ‘सिजाङ’ भनिन्छ । तिब्बती संस्कृति चिनाउने उद्देश्यले यो कार्यक्रम नेपालमा पहिलोपटक आयोजित गरिएको हो । सप्ताहभित्र सिजाङ क्षेत्रको कला, संगीत, नृत्य, भेषभूषा र जीवनशैली झल्किने विभिन्न प्रदर्शनी तथा कार्यक्रम समावेश गरिने आयोजकले जनाएका छन् ।

नेपाल–चीन सम्बन्धको ७०औँ वर्षगाँठ अवसरमा आयोजित यो कार्यक्रम कूटनीतिक मात्र नभई जनस्तरमै दुई देशबीचको मित्रतालाई अझ नजिक ल्याउने एक अवसरका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ९, सोमबार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP