मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का जस्तै

533
SHARES
बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का जस्तै

ढाका । बिहीबार सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । हालसम्म घोषणा गरिएको परिणामअनुसार २९९ सिटमध्ये बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग प्रशस्त गरेको हो ।

बीएनपी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका रहमान दुवै क्षेत्रमा विजयी भएका छन् । बेलायतमा १७ वर्ष निर्वासनमा बसेपछि उनी गत जनवरी २५ मा स्वदेश फर्किएका थिए ।

जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले हालसम्म ४५ सिट जितेको छ । जमात प्रमुख सफिकुर रहमानले ढाका–१५ बाट जित हासिल गरेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले तीन सिटमा विजय हात पारेका छन् ।

समाचार तयार पार्दासम्म २०६ सिटको मात्र आधिकारिक परिणाम सार्वजनिक भएको छ भने बाँकी सिटको मतगणना जारी छ ।

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सञ्चालन गर्दै आएका शेख हसिना र खालिदा जियाको युगपछि बंगलादेशमा पहिलोपटक संसदीय निर्वाचन भएको हो । शेख हसिना २०२४ अगस्ट ५ मा भएको विद्यार्थी आन्दोलनपछि देश छाडेर भारत गएकी थिइन् भने खालिदा जियाको निधन भइसकेको छ । यस निर्वाचनले करिब ३५ वर्षपछि देशलाई नयाँ प्रधानमन्त्री दिनेछ ।

देशभरका ३६ हजार मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो । यसक्रममा खुलनास्थित एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ । त्यस्तै, गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मतदानपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले “आज नयाँ बंगलादेशको जन्म भएको छ” भन्दै निर्वाचनलाई ऐतिहासिक बताएका छन् । अर्कोतर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले भने निर्वाचनलाई धाँधलीपूर्ण आरोप लगाउँदै रद्द गर्न माग गरेकी छन् । उनले अन्तरिम सरकार प्रमुख युनुसको राजीनामा समेत मागेकी छन् ।

यस चुनावमा शेख हसिनाको पार्टी अवामी लिगलाई सहभागिताबाट प्रतिबन्ध लगाइएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP