मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाकिस्तानमा बाढले ३४४ को ज्यान लियो, डेढ सयभन्दा बढी बेपत्ता

2.3K
SHARES
पाकिस्तानमा बाढले ३४४ को ज्यान लियो, डेढ सयभन्दा बढी बेपत्ता

बाबर (पाकिस्तान) । उत्तरपश्चिम पाकिस्तानमा मनसुनी वर्षासँगै आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति पुर्याउँदै कम्तीमा ३४४ जनाको ज्यान लिएको छ । प्रान्तीय विपद् व्यवस्थापन एजेन्सी (पीडीएमए) का प्रमुख असफान्डियार खट्टकका अनुसार अझै १५० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

हजारौँ सुरक्षाकर्मी र उद्धार टोलीले वर्षा र माटोको ढिस्काबीच भग्नावशेषमा फसेकाहरूको खोजीलाई तीव्र पार्दै राहत तथा उद्दार कार्य जारी राखेका छन् । “बुनेर जिल्लामा मात्र करिब १५० जना अझै सम्पर्कविहीन छन्, उनीहरू भग्नावशेष मुनि फसेका वा बढेको भेलले बगाएका हुन सक्छन्,” खट्टकले बताए ।

सबैभन्दा बढी क्षति बुनेर जिल्लामै भएको छ । यहाँका करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएका छन् भने २०८ जनाको मृत्यु पुष्टि भइसकेको छ । सङ्ला र अन्य पहाडी ग्रामीण भेगहरूबाट पनि दर्जनौँको मृत्यु र बेपत्ता भएको विवरण प्राप्त भएको पीडीएमएले जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तका पहाडी भूभागमा शुक्रबार राति परेका अविरल वर्षापछि आएको आकस्मिक बाढी र पहिरोले घरहरू भत्किएको र सडकहरू अवरुद्ध गरेको क्षेत्रीय उद्धारसम्बन्धी प्रवक्ता बिलाल अहमद फैजीले जानकारी दिए । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा परिचालित छन् ।

स्थानीय अधिकारी मोहम्मद सोहेलका अनुसार आधाभन्दा बढी अवरुद्ध सडकहरू खुलाइएको छ । सोही क्रममा दुर्गम क्षेत्रसम्म राहत सामग्री पुर्‍याउन सुरक्षाकर्मी, प्रहरी र उद्धारकर्मीहरूले लगातार प्रयास गरिरहेका छन् ।

कादर नगर गाउँमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । विवाहको पूर्वसन्ध्यामा आएको बाढीले एक घरभित्रै पसेर २४ जना परिवार सदस्यको ज्यान लिएको छ । परिवारका प्रमुख उमर खान बाहिर भएकाले मात्र ज्यान जोगाउन सफल भएका हुन् । उनका चार आफन्त अझै बेपत्ता छन् ।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले घटनास्थल पुगेर मृतकका परिवारलाई प्रति परिवार दुई लाख पाकिस्तानी रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले पाल, खानेकुरा र सुरक्षित पिउने पानीको आपूर्तिका लागि पनि निर्देशन दिएका छन् ताकि महामारी फैलिन नदिइयोस् ।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्यलाई तीव्र बनाउन र बेपत्ताहरूको खोजीलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन प्राधिकरणले आगामी १७–१९ अगस्टमा थप वर्षा, बाढी र पहिरोको चेतावनी जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।

यो वर्ष जुन २६ देखि शुरू भएको मनसुनसँगै अहिलेसम्म पाकिस्तानभरि ६०० भन्दा बढीले ज्यान गुमाएका छन् । सन् २०२२ को विनाशकारी मनसुनी वर्षामा १,७०० जनाको मृत्यु भएको र लाखौँ घरहरू ध्वस्त भएको स्मरणीय छ ।

विशेषज्ञहरूको चेतावनीमा जलवायु परिवर्तनका कारण दक्षिण एसियामा हरेक वर्ष मौसमी विपत् थप घातक बन्दै गइरहेका छन् ।

यसैबीच, भारत–प्रशासित काश्मीरमा पनि भीषण वर्षापछिको आकस्मिक बाढीबाट क्षति भएको छ । कठुआ जिल्लामा ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । किश्तवार जिल्लाको दुर्गम चोसिती गाउँमा आएको बाढीमा कम्तीमा ६० जनाको मृत्यु र १५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये करिब ५० जनाको अवस्था गम्भीर छ ।

तीर्थयात्रीहरू रहेका बेला आएको बाढीले ठूलो जोखिम निम्त्याएको अधिकारीहरूको भनाइ छ । हालसम्म ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने करिब ४,००० तीर्थयात्रीलाई सुरक्षित स्थानमा सारिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP