मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जापानको तल्लो सदन निर्वाचनमा एलडिपीको ऐतिहासिक बहुमत, प्रधानमन्त्री ताकाइचीको सशक्त उदय

1.9K
SHARES
जापानको तल्लो सदन निर्वाचनमा एलडिपीको ऐतिहासिक बहुमत, प्रधानमन्त्री ताकाइचीको सशक्त उदय

काठमाडौं । जापानमा आइतबार सम्पन्न जापानको तल्लो सदन निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले अभूतपूर्व सफलता हात पारेको छ । एलडिपीले एक्लै ३१६ सिट जित्दै जापानी संसदीय इतिहासमै नयाँ कीर्तिमान कायम गरेको हो ।

यसअघिको संसदमा १९८ सिटमा सीमित रहेको एलडिपीले यस निर्वाचनमा उल्लेखनीय फड्को मार्दै ठूलो बहुमत हासिल गरेको छ । ४६५ सिट रहेको तल्लो सदनमा दुई तिहाइ बहुमतका लागि ३१० सिट आवश्यक पर्ने भए पनि एलडिपीले त्यो सीमा एक्लैले पार गरेको छ ।

एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । यससँगै सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ, जसले सरकारलाई संसदमा झनै बलियो बनाएको छ ।

यो विजय सन् १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेले हासिल गरेको ३०० सिटको रेकर्डलाई प्रधानमन्त्री ताकाइचीले तोडेकी हुन् ।

निर्वाचनमा विपक्षी दलहरू भने ठूलो घाटामा परेका छन् । मुख्य विपक्षी सेन्टर रिफर्म कोलिसनले जम्मा ४९ सिट मात्र प्राप्त गरेको छ, जबकि अघिल्लो निर्वाचनमा सो दलसँग १७२ सिट रहेको थियो । यसले जनमत सत्तारुढ गठबन्धनतर्फ स्पष्ट रूपमा सरेको संकेत गरेको छ ।

अन्य साना दलहरूले एलडिपी गठबन्धन बाहिर ११३ सिट जितेका छन् । यद्यपि, संसदको शक्ति सन्तुलनमा उनीहरूको प्रभाव सीमित देखिएको छ ।

प्रधानमन्त्री ताकाइचीले यही जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्र निर्वाचन गराउने घोषणा गरेकी थिइन् । छोटो समयमै भएको निर्वाचनमा उनले जनताबाट बलियो समर्थन पाउन सफल भएकी छन् ।

ताकाइचीका प्रमुख चुनावी एजेण्डामा संविधान संशोधन, राष्ट्रिय सुरक्षाका लागि बलियो सेना निर्माण, तथा खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत कर हटाउने प्रस्ताव रहेका छन् । यी नीतिगत प्रतिबद्धताले आगामी दिनमा जापानको राजनीति र अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २६, सोमबार ०१:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP