मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत पुग्यो, ग्रामीण क्षेत्रमा महँगी उच्च

169
SHARES
साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत पुग्यो, ग्रामीण क्षेत्रमा महँगी उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको साउनमा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्र रहेको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यान्न तथा पेय पदार्थ र गैरखाद्य वस्तु तथा सेवाको मूल्यवृद्धिका कारण समग्र मुद्रास्फीति बढेको हो ।

प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ । यस समूहमा सबैभन्दा बढी घिउ तथा तेलको मूल्य १५.६२ प्रतिशतले बढेको छ । त्यस्तै फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले वृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा समूहमा वार्षिक मुद्रास्फीति ५.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस समूहअन्तर्गत यातायात क्षेत्रमा सबैभन्दा उच्च १३.१७ प्रतिशत मूल्यवृद्धि भएको छ । मदिराजन्य पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य वस्तुको मूल्य ४.९७ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांकले सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा महँगीको दर बढी रहेको देखाएको छ । साउनमा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ५.८८ प्रतिशत वृद्धि भएको छ ।

प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ६.९४ प्रतिशत मुद्रास्फीति कायम भएको छ । सुदूरपश्चिम प्रदेशमा भने मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत, हिमालमा ५.१० प्रतिशत र काठमाडौं उपत्यकामा ४.८१ प्रतिशतले उपभोक्ता मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २, शुक्रबार १२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP