मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अव्यवस्थित एन्फाको विरोधमा धर्ना, ‘फुटबल बचाउ’ अभियानको सुरुवात

1.9K
SHARES
अव्यवस्थित एन्फाको विरोधमा धर्ना, ‘फुटबल बचाउ’ अभियानको सुरुवात

काठमाडौं । नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र एन्फा नेतृत्वको गैरजवाफदेहिताविरुद्ध बिहीबार सरोकारवालाहरूले काठमाडौंस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि धर्ना दिएका छन् ।

बिहान करिब एक घण्टा चलेको धर्नामा खेलाडी, प्रशिक्षक, फुटबलप्रेमी र केही क्लब प्रतिनिधिहरूको उपस्थिती थियो । उनीहरूले ‘घरेलु लिग चलाउ, फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल’, ‘नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै एन्फा नेतृत्वको विरोध गरेका थिए ।

फुटबल संकटको मूल कारण नेतृत्व विवाद
सहभागीहरूका अनुसार एन्फा भित्र पछिल्ला वर्षहरूमा देखिएको आन्तरिक विवाद, गुटबन्दी र निर्णयमा पारदर्शिताको अभाव नै आजको संकटको मुख्य कारण हो । उनीहरूले लिग स्थगन र आर्थिक अनियमितताले खेलाडीहरूको मनोबल गिराएको र देशभरको फुटबल गतिविधि ठप्प पारेको आरोप लगाएका छन् ।

हालै धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभामा पनि केही क्लबहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए । उनीहरूले एन्फाको आर्थिक विवरणमा अनेक शंका र विरोध जनाउँदै तत्काल छानबिनको माग गरेका छन् ।

१ अर्ब ५६ करोड खर्चको विवाद
एन्फाले आर्थिक वर्ष २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको दाबी गरेको छ । तर, उक्त रकम कहाँ, कसरी खर्च भयो भन्ने विवरण सार्वजनिक नगरिएकाले असन्तुष्टि बढेको छ । केही क्लबहरूले रकम खर्चको विषयमा पारदर्शिता देखाउन एन्फालाई अल्टिमेटमसमेत दिएका छन् ।

खेलाडीहरू कठिन परिस्थितिमा
एन्फाको आन्तरिक विवाद र लिग स्थगनको असर सिधा खेलाडीहरूमा परेको छ । धेरै खेलाडीहरू महिनौँदेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । कतिपय क्लबहरूले आर्थिक अभावका कारण प्रशिक्षण स्थगित गरेका छन् भने कतिपय खेलाडीले वैकल्पिक रोजगारी रोज्न थालेका छन् ।

‘फुटबल बचाउ अभियान’को सुरुवात
धर्नामा उपस्थित सरोकारवालाहरूले यो आन्दोलनलाई केवल विरोधका लागि नभई सुधारको अभियानको रूपमा अघि बढाउने बताएका छन् । उनीहरूले एन्फा नेतृत्वले जवाफ नदिए आगामी दिनहरूमा निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

एक सहभागीले भने, “हामी फुटबल प्रेमी हौँ, राजनीति गर्न आएका होइनौँ । फुटबल बचाउन अब सडकमा उत्रिनु पर्‍यो ।”

यसबीच, एन्फा नेतृत्वले भने आरोपहरू असत्य र राजनीतिक प्रेरित रहेको दाबी गर्दै आर्थिक विवरण चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । तर, आलोचकहरूका अनुसार एन्फाले पारदर्शिता र जवाफदेहिताको संस्कार स्थापित नगरेसम्म नेपाली फुटबल पुनः उठ्न कठिन छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP