मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाडपर्वमा सुरक्षित यात्रा गर्न मन्त्री घिसिङको आग्रह

1.8K
SHARES
चाडपर्वमा सुरक्षित यात्रा गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । चाडपर्वका लागि यात्रुहरूको चाप बढिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चालक र यात्रुलाई यात्रा सुरक्षित बनाउन विभिन्न सुझाव दिएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत चालकलाई चार र यात्रुलाई चार सन्देश दिएका हुन् ।

“तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो । त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्,” मन्त्री घिसिङले अनुरोध गरेका छन् ।

चालक साथीहरूलाई अनुरोध गर्दै उनले लेखेका छन्ः
— गति नियन्त्रणमा राख्नुहोस्,
— मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
— विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,
— यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस् ।

त्यस्तै यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्दै थप लेखेका छन्ः
— क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
— चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
— यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
— यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।

मन्त्री घिसिङले सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो भनेका छन् । साथै उनले यहाँहरू सम्पूर्णलाई दसैँको हार्दिक शुभकामना भनेका छन् ।

यातायातसँगै सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि अहिले घिसिङकै जिम्मामा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP