मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ई–७ भिसामार्फत दक्षिण कोरिया कामदार पठाउने कार्यविधिको रोक फुकुवा

1.9K
SHARES
ई–७ भिसामार्फत दक्षिण कोरिया कामदार पठाउने कार्यविधिको रोक फुकुवा

काठमान्डु । ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले यसअघि तत्कालका लागि लगाएको रोक हटाएको हो ।

विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै कार्यविधिको कार्यान्वयन रोकिएको जनाएको थियो । उक्त सूचनाविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले सो रोकसम्बन्धी सूचना कार्यान्वयन नगर्न÷नगराउन आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २४ गते परिपत्र जारी गर्दै भदौ ३१ को सूचना कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सोही आधारमा अब कार्यविधि पुनः कार्यान्वयनको चरणमा पुगेको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार, अदालतको आदेश र मन्त्रालयको परिपत्रका आधारमा विभागले भदौ ३१ को सूचना फिर्ता लिएको हो । विभागले नयाँ सूचना जारी गर्दै उच्च अदालत पाटनको असोज ३१ को आदेश र श्रम मन्त्रालयको कात्तिक २४ को पत्रअनुसार अघिल्लो सूचना कार्यान्वयन नहुने स्पष्ट गरेको छ ।

श्रम मन्त्रालयले यसअघि ई–७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउन कार्यविधि जारी गर्दै म्यानपावर कम्पनीमार्फत कामदार पठाउन पाउने व्यवस्था गरेको थियो । त्यसअनुसार कोरियास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरण गर्न समेत परिपत्र गरिएको थियो, जसपछि दूतावासले प्रमाणीकरण प्रक्रिया सुचारु भएको जनाएको थियो ।

तर, सरकारको उक्त निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएपछि विभागले कार्यविधि रोकिएको सूचना जारी गरेको थियो । त्यस सूचनाविरुद्ध व्यवसायीहरू अदालत पुगेका थिए, जसको सुनुवाइपछि उच्च अदालतले विभागको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यद्यपि, अदालतको आदेशपछि रोक फुकुवा भए पनि ई–७ भिसामार्फत कामदार पठाउने प्रक्रिया पूर्ण रूपमा खुलेको छ वा छैन भन्ने विषयमा मन्त्रालय र विभाग स्पष्ट देखिएका छैनन् ।

हाल दक्षिण कोरियाले विदेशी कामदार दुई माध्यमबाट भित्र्याउँदै आएको छ । कोरियन भाषा परीक्षा (ईपीएस) प्रणालीमार्फत १७ देशबाट कामदार लैजाने व्यवस्था छ । ती देशहरूबाटै ई–७ भिसामार्फत सीपयुक्त कामदार समेत लैजाने गरिएको छ । नेपालबाट पनि ई–७ भिसामार्फत कामदार पठाउने उद्देश्यले कार्यविधि बनाइएको भए पनि यसले ईपीएस प्रणालीलाई असर पार्ने भन्दै विभिन्न पक्षबाट विरोध हुँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ११:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP