मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘मरेको सिनो’ प्रकरणः झाँक्रीलाई तीन दिने लिखित जवाफ माग

1.8K
SHARES
‘मरेको सिनो’ प्रकरणः झाँक्रीलाई तीन दिने लिखित जवाफ माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तोष अब औपचारिक रूपमा अनुशासन कारबाहीको चरणमा पुगेको छ । स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले शनिबार लुम्बिनीमा दिएको तीखो सार्वजनिक अभिव्यक्तिपछि पार्टी अनुशासन आयोगले उनलाई तीनदिने स्पष्टीकरण पठाएको हो । पार्टी कार्यालयका सचिव सोमप्रसाद पाण्डेले ‘जे कुरा बोल्नुभयो, त्यसको लिखित कारण पेश गर्नुस्’ भन्दै पत्रबारे पुष्टि गरेका छन् ।

झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि लागेका भ्रष्टाचार मुद्दा र नेतृत्वको ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ जस्ता टिप्पणीसहित अर्ली महाधिवेशन माग गरिन् ।

भाषण सार्वजनिक भएपछि पोलिटब्युरो सदस्य सुदेश पराजुलीले उनलाई ‘विक्षिप्त मानसिकताको पराकाष्ठा’ भने, पार्टी महासचिव घनश्याम भुसालले कार्यकर्तालाई अध्यक्षविरुद्ध एक शब्द पनि नबोल्न परिपत्र जारी गरिदिए ।

अनुशासन आयोगले पठाएको पत्रमा झाँक्रीलाई असार २० भित्रमा जवाफ नआए पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उल्लेख छ ।

पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६७ मा पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा बिक्री गर्न दिएको, त्यसपछि सोही जग्गा पुनः बेचेको अभियोगमा सीआईएएले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो  । अदालतले नेपालसहित ९३ आरोपितलाई जनही ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि पार्टी भित्र ‘नेतृत्व संकट’ बहस चर्किएको हो ।

तीन वर्षअघि एमाले अलग्गिएर गठन भएको एकीकृत समाजवादीमा झाँक्रीले नै नेपाललाई निर्वाचन आयोग लगेर पार्टी दर्ता गराएकी थिइन् । तर मन्त्रीबाट समयमै फिर्ता गरेको गुनासो र पछिल्ला चयन प्रक्रियामा ‘पावर सेयर’ नपाएको असन्तुष्टि अहिले विस्फोट भएको पार्टी स्रोत बताउँछन् ।

गत वर्षको महाधिवेशनपछि पदाधिकारी निर्वाचन हुँदा झाँक्री उपाध्यक्ष पदमा पराजित भएकी थिइन् । त्यसयता उनले ‘सके एमाले फर्कने, नसके आफ्नै लाइन बनाउन’ खोजेको भन्दै नेपाल समूह सतर्क बनेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP