मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्रड पिकमा ज्यान गुमाएका निम्स दाइको अन्त्येष्टि बेलायतमा हुने

78
SHARES
ब्रड पिकमा ज्यान गुमाएका निम्स दाइको अन्त्येष्टि बेलायतमा हुने

काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलास्थित ब्रड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्त्येष्टि बेलायतमा गरिने भएको छ । कठिन उद्धार अभियानपछि बुधबार उनको शव हिमपहिरोबाट निकालेर सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो ।

निर्मल पुर्जाको कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार पुर्जासँगै झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पनि सफलतापूर्वक उद्धार गरिएको छ । अप्ठ्यारो भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण शव निकाल्न ढिलाइ भएको जनाइएको छ । यद्यपि, साउन १७ गते नै पुर्जाको शव फेला परे पनि तत्काल उद्धार सम्भव भएको थिएन ।

कम्पनीका अनुसार बेस क्याम्पबाट पुर्जाको शव पाकिस्तानको स्कार्डोसम्म पुर्‍याउन करिब दुई दिन लाग्नेछ । त्यसपछि शवलाई बेलायतको लन्डन लगिनेछ, जहाँ उनको परिवार बसोबास गर्दै आएको छ । उनी बेलायतका स्थायी बासिन्दा तथा पूर्व ब्रिटिस आर्मी सैनिक भएकाले अन्त्येष्टि पनि त्यहीँ गरिने निर्णय भएको हो ।

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका अन्य नेपाली पर्वतारोहीहरूको शव भने नेपाल ल्याइने तयारी भइरहेको जनाइएको छ ।

शव उद्धार अभियानको नेतृत्व पर्वतारोही तथा उद्धारकर्ता मिङ्मा शेर्पाले गरेका थिए । पाकिस्तान आर्मी, पाकिस्तान सरकार, गिल्गिट–बाल्टिस्तान सरकार, ब्रिटिस हाइ कमिसन, नेपाल दूतावास र अल्पाइन क्लब अफ पाकिस्तानलगायत निकायले उद्धारमा समन्वय र सहयोग गरेका थिए ।

कम्पनीले विज्ञप्तिमार्फत निम्स दाइलाई केवल एक पर्वतारोही नभई पति, पिता, छोरा, दाजुभाइ, साथी तथा आफ्ना विभिन्न संस्थाहरूको प्रेरणादायी नेतृत्वका रूपमा स्मरण गरेको छ । उनको निधन अपूरणीय क्षति भए पनि अन्तिम श्रद्धाञ्जलीमा परिवार, आफन्त र शुभेच्छुक सहभागी हुन पाउने वातावरण बनेको उल्लेख गरिएको छ ।

साउन १४ गते ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा कुल १० जना पर्वतारोही परेका थिए । तीमध्ये हालसम्म चार जनाको शव उद्धार गरिएको छ भने तीन जना अझै बेपत्ता रहेका छन् ।

म्याग्दीमा जन्मेर चितवनमा हुर्किएका पुर्जाले सन् २००३ मा ब्रिटिस आर्मीमा प्रवेश गरेका थिए । गोर्खा रेजिमेन्टमा सेवा गरेपछि उनी बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबीएस) मा आबद्ध भएका थिए । उनले अक्सिजनबिनै ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । यसपटक पनि सोही उपलब्धिलाई अझ उत्कृष्ट बनाउने लक्ष्यसहित दोस्रोपटक सबै ८ हजारे हिमाल अक्सिजनबिनै आरोहण गर्ने अभियानमा रहेका बेला ब्रड पिकको हिमपहिरोमा परेर उनको निधन भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २०, बुधबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP