मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको अन्तर्राष्ट्रिय यात्रामा सुखद पूर्णविराम, बेनिनविरुद्ध ३–० को जित

377
SHARES
मेस्सीको अन्तर्राष्ट्रिय यात्रामा सुखद पूर्णविराम, बेनिनविरुद्ध ३–० को जित

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल सुखद जितसहित टुंग्याएका छन् । बेनिनविरुद्धको खेलमा अर्जेन्टिनाले ३–० को प्रभावशाली जित निकाल्दा मेस्सीले एक गोल र दुई असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे ।

३९ वर्षीय मेस्सीका लागि यो अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा २०८औँ तथा अन्तिम खेल थियो । लामो समयदेखि अर्जेन्टिनाको आक्रमणको नेतृत्व गर्दै आएका उनले अन्तिम खेलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए ।

खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरलाई सदुपयोग गर्दै गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

अर्जेन्टिनाले ७१औँ मिनेटमा पेनाल्टीको अवसर पायो । उक्त अवसरमा मेस्सी आफैँले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्‍याए । यही गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोलसमेत बन्यो ।

अन्तिम खेलमा मेस्सी मैदान प्रवेशदेखि नै समर्थकको आकर्षणको केन्द्रमा थिए । खेलअघि र खेलपछि उनी भावुक देखिए । समर्थक तथा सहकर्मी खेलाडीहरूले उनलाई विशेष सम्मानसहित राष्ट्रिय टोलीको यात्राका लागि बिदाइ गरेका थिए ।

आठपटकका ‘बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा २०८ खेल खेल्दै १२६ गोल गरेका छन् । यसक्रममा उनले व्यक्तिगत उपलब्धिसँगै अर्जेन्टिनालाई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाउन पनि प्रमुख भूमिका निर्वाह गरे ।

सन् २००५ मा अर्जेन्टिनाले फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर राष्ट्रिय टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा फाइनलिसिमा र विश्वकपको उपाधि जिते ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले २०२२ को कतार विश्वकप जित्दै लामो समयदेखि प्रतीक्षा गरिएको विश्वकप उपाधि हात पारेको थियो । त्यसअघि उनले सन् २०१४ मा पनि अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

त्यसपछि २०२६ को विश्वकपमा पनि मेस्सीले अर्जेन्टिनाको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए । राष्ट्रिय टोलीबाट उनको अन्तिम खेलमा समेत गोल र असिस्टसहित प्रभावशाली प्रदर्शन गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झनलायक ढंगले अन्त्य गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २१, बुधबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP