मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘निर्वाचन सफल पार्नुपर्छ, जेन–जीको विध्वंस घुसपैठीयाले गराएको हो’

2.9K
SHARES
‘निर्वाचन सफल पार्नुपर्छ, जेन–जीको विध्वंस घुसपैठीयाले गराएको हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले आगामी २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नु सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका छन् ।

तिहार, नेपाल संवत् र छठका अवसरमा मंगलबार ललितपुरमा आयोजित चियापान कार्यक्रममा उनले सरकारलाई निर्वाचन सम्पन्न गर्न माओवादी केन्द्र पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताए ।

‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरू दलहरूलाई पनि त्यसकै पक्षमा उभिन आग्रह गर्छौँ ।’

उनका अनुसार केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर माओवादी केन्द्रको चुनावी प्रतिबद्धता स्पष्ट गरिसकेका छन् ।

‘प्रधानमन्त्रीले बोलाउनुभएको थियो, हामीले भन्यौं— चुनावको पक्षमा छौँ, वातावरण बनाउन तयार छौँ,’ उनले भने, ‘तर अरू दलहरूले पनि चुनावी माहोल बनाउने जिम्मा लिनुपर्छ ।’

पुनले २३ गतेको जेन–जी आन्दोलनलाई न्यायोचित भन्दै २४ गतेको विध्वंस भने घुसपैठीयाहरूले गराएको दाबी गरे । ‘२३ र २४ गतेका अपराधमा संलग्न जो कोही हुन्, कारबाही हुनुपर्छ,’ उनले भने ।

उनले विघटित प्रतिनिधिसभाका सत्तारूढ दल नेपाली कांग्रेस र एमालेको सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको र त्यसकै परिणामस्वरूप जनआक्रोश जेन–जी आन्दोलनको रूपमा विस्फोट भएको टिप्पणी गरे ।

‘ओली सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा फसेको थियो,’ उनले भने, ‘त्यसकै कारण नयाँ पुस्ता सडकमा निस्कन बाध्य भयो ।’

पुनका अनुसार प्रमुख प्रतिपक्षीको हैसियतमा माओवादी केन्द्रले बारम्बार सरकारलाई जनभावना बुझ्न र कार्यशैली सुधार्न चेतावनी दिएको थियो तर सरकार नसुन्दा आन्दोलन अपरिहार्य बनेको हो ।

प्रचण्डको ‘जनताको असन्तुष्टि चरममा पुगेको छ’ भन्ने भनाइलाई स्मरण गर्दै पुनले भने, ‘उनको अभिप्राय सिंहदरबार जलाउने होइन, सरकारलाई जनभावना बुझ्न चेतावनी दिने थियो ।’

माओवादी केन्द्र र अन्य दलबीच सुशासनका दृष्टिले फरक चरित्र रहेको पुनको भनाइ थियो । ‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कामहरू त्यसको प्रमाण हुन्,’ उनले जोड दिए ।

भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै पुनले आफ्नो पार्टी त्यसमा सघाउन तयार रहेको स्पष्ट पारे । ‘हामीले सरकारमा रहँदा कार्यकर्ता, समर्थक वा मतदाताको शिर निहुराउने काम गरेका छैनौं,’ पुनले भने, ‘सुशासन र पारदर्शिताप्रति हाम्रो प्रतिबद्धता अडिग छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ४, मंगलवार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP