मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांसद खतिवडाको आरोप: ‘जापानको भिजिट भिसा प्रकरणमा अर्बौंको बदमासी, निष्पक्ष छानबिन होस्’

1.8K
SHARES
सांसद खतिवडाको आरोप: ‘जापानको भिजिट भिसा प्रकरणमा अर्बौंको बदमासी, निष्पक्ष छानबिन होस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जापान भिजिट भिसा प्रकरणमा गम्भीर अनियमितता भएको दाबी गर्दै संसदमा निष्पक्ष छानबिनको माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले ‘सुमिरे टुर एण्ड ट्राभल्स’ नामक कम्पनीले विगत एक दशकदेखि हजारौँ नेपालीलाई भ्रमण भिसाको नाममा पठाएर अर्बौं रुपैयाँ असुलेको आरोप लगाए ।

खतिवडाले नाम नलिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ सङ्केत गर्दै जापान पठाउने सोही रकमकै भरमा कतिपयले आज संसदसम्मको यात्रा पूरा गरेको टिप्पणी गरे । ‘१० वर्षदेखि हजारौँ नेपाली युवालाई भिजिट भिसाको नाममा लठ्याएर असुली गरिएको रकमले संसदमा प्रतिनिधित्व हुने अवस्था आएको छ,’ उनले भने, ‘यस्तो विकृति, विसंगति र गैरकानुनी धन्दामाथि तत्काल निष्पक्ष छानबिन होस् ।’

उनले यस्ता क्रियाकलाप संसद र राजनीतिक क्षेत्रमा प्रत्यक्ष प्रवेश गरेको देखिएको भन्दै चिन्ता व्यक्त गरे। ‘जनताले संसदमा विश्वास गर्छन्, तर यस्तो शंकास्पद पृष्ठभूमिबाट आएका व्यक्तिहरूकै कारण संसदको गरिमा खतरामा पर्न सक्छ,’ खतिवडाको भनाइ थियो ।

सांसद खतिवडाले हालैको संसदको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए । आफ्ना कुरा राखिरहँदा अरू माननीय सदस्यहरूले होहल्ला, नाराबाजी गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले यसले संसदीय मर्यादामा आँच आउने चेतावनी दिए । ‘संसद छलफल, बहस र सहमतिको थलो हो, तर यहाँ त हुलदंगा हुने अभ्यास दोहोरिन थालेको छ,’ उनले भने, ‘यसलाई रोक्न राजनीतिक दलहरूले साझा प्रयास गर्न जरुरी छ ।’

सांसद खतिवडाले यस्ता गम्भीर आरोपमा कुनै दल वा व्यक्ति नछोई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग समेत गरे । ‘सरकार वा संसद कसैले पनि यो विषयलाई हल्का रूपमा लिनु हुँदैन,’ उनले जोड दिए ।

त्यस्तै सांसद खतिवडाले देशभर मौसम परिवर्तन भएसँगै वर्षा सुरु भएको भन्दै लगातारको वर्षाले पहाडी तथा हिमाली भेगमा बाढी, पहिरो र सडक अवरोधजस्ता समस्या उत्पन्न गराएको बताउँदै विभिन्न जिल्लाका सडक तथा यातायातका पूर्वाधार अस्तव्यस्त बन्न थालेको बताए । उनले भने, ‘वर्षासँगै देखिएको अर्को समस्या भनेको हतारमा थालिएको ‘असारे विकास’ हो । सडक किनारमा खाल्डाखुल्डी खन्ने, ढुंगामाटो थुपार्ने, आधा अधुरो निर्माण थाल्ने कामले यातायात सहज बन्नु त परै जाओस्, झन जनतालाई असहज बनाएको छ । कतिपय स्थानमा निर्माणका नाममा सडक पूर्णरूपमा अबरुद्ध भएका छन् ।’

सांसद खतिवडाले गृहमन्त्रालयलाई देशभर विपद् तयारीका लागि सक्रिय रहन आग्रह गरे । ‘७७ वटै जिल्लामा बाढीपहिरोको जोखिम रहेको छ,’ उनले भने, ‘तसर्थ, गृह मन्त्रालयले तत्काल सम्पूर्ण जिल्लामा विपत् व्यवस्थापनका तयारी तीव्र पारोस् ।’

खतिवडाले पूर्वी पहाडी क्षेत्रको ओखलढुंगा जिल्लामा पर्ने सोफ्रु खोलामा निर्माणाधीन पुल अझै जिर्ण अवस्थामा रहेको जनाउँदै यथाशिघ्र मर्मतका सरकारको ध्यानाकर्षण गराए । उनले पुल नबन्दा स्थानीयवासीलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था आएको बताए ।

त्यस्तै, घुर्मीदेखि सुनकोशी पुलसम्मको सडक खण्डसमेत वर्षायाममा अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै उनले त्यसलाई मध्यलोकमार्ग पहाडी सडक योजना अन्तर्गत प्राथमिकतामा राखेर तत्काल निर्माण कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार ११:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP