मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

घिसिङको चेतावनीपछि कमला पुल निर्माण तीब्र गतिमा

1.7K
SHARES
घिसिङको चेतावनीपछि कमला पुल निर्माण तीब्र गतिमा

काठमान्डु । हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुल को बाँकी काम तीव्र गतिमा अघि बढिरहेको छ । ठेक्का सम्झौता भएको करिब १४ वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन नसकेको यो पुल अन्ततः अन्तिम चरणमा पुगेको हो ।

निर्माण व्यवसायीले आगामी चैतभित्र पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिका बनाउँदै काम थालेका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणले अब गति लिँदा स्थानीयवासीमा आशा जागेको छ ।

४६९ मिटर लामो पुल, डिजाइनदेखि निर्माणसम्म एउटै मोडल
निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको कुल लम्बाइ ४६९ मिटर रहेको छ । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गमा पर्ने यो पुल निर्माण नहुँदा यस क्षेत्रको आवागमन वर्षौंदेखि प्रभावित हुँदै आएको छ ।

मन्त्री घिसिङको स्थलगत अनुगमन र कडा निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ ले गत ५ मंसिरमा पुलको स्थलगत अनुगमन गर्दै निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।

उनले पुल निर्माणको नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी समेत दिएका थिए । साथै, हाल नदी बगिरहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी आवतजावतको व्यवस्था गर्न निर्देशन दिइएको थियो ।

अस्थायी आवतजावतको तयारी
मन्त्रीको निर्देशनअनुसार ठेक्का व्यवस्थापन भई ह्युम पाइप राख्ने काम पनि भइरहेको छ । पुल नबन्दा स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन् । सवारीसाधन लामो रुट प्रयोग गर्न बाध्य छन् भने कमला नदी वारपार गर्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

२०७८ को बाढीले पुर्‍याएको क्षति
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिनुका साथै चारवटा स्लावमा क्षति पुगेको थियो । प्राविधिक अध्ययनअनुसार सिराहातर्फ (पूर्व) का दुईवटा स्लाव हटाइएका छन् भने धनुषातर्फ ९पश्चिम० का दुईवटा स्लाव हटाउन नपर्ने निष्कर्ष निकालिएको छ ।

भासिएको जगलाई थप मजबुत बनाउँदै स्लाव लिफ्टिङको काम सुरु गर्ने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले स्थल भ्रमण तथा निरीक्षण गरी कार्ययोजना तयार गरिरहेका छन् ।

सिराहातर्फ संरचनागत काम सम्पन्न
पुलको पूर्वतर्फ (सिराहा) सब–स्ट्रक्चरको काम पूरा भइसकेको छ । सिराहातर्फका दुई स्लाव हटाइएका स्थानमा एउटा जग भासिएकाले त्यस स्थानमा दुईवटा नयाँ जग राखी सब–स्ट्रक्चर सम्पन्न गरिएको छ ।

अब पुलमा प्लेट गडर जडान गर्न बाँकी रहेको छ । उक्त प्लेट गडर निर्माणको काम हाल चितवनमा भइरहेको र तयार भएपछि पुलमा ल्याएर जडान गरिने बताइएको छ ।

नदी नियन्त्रण र पहुँच सडक अझै अलपत्र
ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडक निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन भएकाले डिजाइनसम्बन्धी विषयमा छलफल भइरहेको र डिजाइनको टुंगो लागेपछि मात्रै निर्माण सुरु हुने जनाइएको छ ।

२४ करोडभन्दा बढीको ठेक्का, सातपटक म्याद थप
कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । प्रारम्भिक सम्झौताअनुसार पुल २०७१ मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तर समयमै निर्माण हुन नसक्दा सातपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थपिएको म्याद गत असारमा सकिएको थियो । हाल निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थपको प्रस्ताव पेस गरेको छ र म्याद थपको प्रक्रिया जारी छ ।

हाल बाँकी काम लुम्बिनी पक्षले गरिरहेको छ भने अहिलेसम्म २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १२, शनिबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP