मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु

520
SHARES
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी फारम वितरणसँगै मनोनयन दर्ता थालेको हो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार पार्टीका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक नेताहरूले मंगलबार अपराह्न ४ः०० बजेसम्म आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन् । उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया सभागृह परिसरबाटै पूरा गर्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा कांग्रेसका ७ हजार ११४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा सार्वजनिक गरिएको छ ।

उम्मेदवारले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीमार्फत तोकिएको उम्मेदवारी शुल्क बुझाएर रसिद लिन सक्ने व्यवस्था गरिएको छ । रसिदसहित निर्वाचन समितिमा पुगेर सम्बन्धित पदका लागि उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको संरचनामा समेत व्यापक परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापतिको पद थपिएको छ भने एक महिला उपसभापति रहने व्यवस्था गरिएको छ । यससँगै उपसभापतिको संख्या चार पुगेको छ ।

त्यस्तै, महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ । तीनमध्ये कम्तीमा एक जना महिला महामन्त्री हुनुपर्ने व्यवस्था गरिएको छ । सहमहामन्त्रीको संख्या पनि बढाएर १५ पुर्‍याइएको छ । त्यसमा दुई जना खुला, विभिन्न क्लस्टरबाट नौ जना तथा एक महिलासहित चार जना मनोनीत हुने व्यवस्था गरिएको छ ।

कांग्रेसले यसपटक प्रवक्ताको पदसमेत थप गरेको छ । आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको पार्टीले जनाएको छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो । नयाँ संरचनाअनुसार अब केन्द्रीय कार्यसमिति २९७ सदस्यीय र पदाधिकारी संख्या २५ पुगेको छ ।

महाधिवेशन प्रतिनिधिको संख्या तथा पार्टीभित्र समावेशी सहभागिता बढेकाले त्यसलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या विस्तार गरिएको कांग्रेसले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP