मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“राजनीतिक आन्दोलन होइन, आतंकवादको अभ्यास सुरु हुँदैछ” : आईजीपी खापुङ

728
SHARES
“राजनीतिक आन्दोलन होइन, आतंकवादको अभ्यास सुरु हुँदैछ” : आईजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले मुलुकभर राजनीतिक आन्दोलनका नाममा भइरहेको आगजनी, तोडफोड र लुटपाटलाई ‘आतंकवादको अभ्यास’ भएको भन्दै कडा चेतावनी दिएका छन् ।

उनका अनुसार, नागरिकका निजी सम्पत्तिमाथि प्रहार गरेर आन्दोलन चलाउनु कुनै पनि राजनीतिक चेतनाको अभ्यास होइन, बरु ‘विध्वंसकारी मानसिकता’ को उपज हो । उनले स्पष्ट रूपमा भने, “जब तपाईंको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन— त्यो क्षणदेखि नै आतंकवाद सुरु हुन्छ ।”

‘विध्वंसको बारुद’ सामाजिक सञ्जालमै फैलिँदैछ
आईजीपी खापुङले सामाजिक सञ्जालमार्फत हिंसा र घृणाको मानसिकता फैलाउने प्रवृत्ति तीव्र गतिमा बढिरहेको बताए । उनका अनुसार, केही समूहहरूले डिजिटल माध्यम प्रयोग गरेर मानिसको मस्तिष्कमा ‘विध्वंसको बारुद’ भर्दै छन्, जसले देशलाई ठूलो दुर्घटनातर्फ धकेल्दैछ ।

उनले चेतावनी दिए, “आजको डिजिटल युगमा बारुद बन्दुकमा होइन, शब्द र विचारमा भरिँदैछ । जब नागरिकले घृणाको शब्दलाई सामान्य ठान्छ, त्यहीँबाट मुलुक असुरक्षा र अराजकताको दिशातिर जान थाल्छ ।”

‘सिपाहीलाई बयानमा बोलाउने’ प्रवृत्तिप्रति असन्तुष्टि
भदौ २३ र २४ का घटनापछि प्रहरीमाथि उठेका प्रश्नप्रति आईजीपी खापुङले तीखो असन्तुष्टि जनाए । उनले भने, “कानून कार्यान्वयन गर्न भोकभोकै लड्ने सिपाहीलाई बयानका लागि बोलाउने कुरा न्याय होइन, अपमान हो ।”

उनका अनुसार, यदि विध्वंस रोक्न प्रहरीलाई बल प्रयोग गर्नै नपाइने हो भने ‘प्रहरी संरचना नै राख्ने औचित्य रहँदैन’ । उनले प्रहरीलाई कानूनले दिएको अधिकार प्रयोग नगरेर मुलुकमा शान्ति कायम गर्न सकिन्न भन्ने स्पष्ट सन्देश दिए ।

‘संसद र सिंहदरबार जोगाउने फोर्सलाई गोली चलाउने अधिकार कानूनले दिएको हो’
आईजीपी खापुङले संसद भवन र सिंहदरबारजस्ता राज्यका प्रमुख संरचनाहरूको सुरक्षामा खटिएका विशेष फोर्सलाई गोली चलाउने अधिकार नै कानूनले दिएको बताए ।

उनले भदौ २३ का घटनाबारे सरकार र प्रहरीमाथि आएका प्रश्न स्पष्ट गर्दै भने, “त्यो दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली वा गृहमन्त्री रमेश लेखकबाट गोली चलाउने आदेश आएको थिएन । सरकारले न्यूनतम बल प्रयोग गर्नू भन्ने निर्देशन मात्र दिएको थियो ।”

खापुङका अनुसार, “दुई हजार गोली चले पनि न्यूनतम मानवीय क्षति” भएको थियो, जसले प्रहरीको संयम प्रमाणित गर्छ । उनले प्रश्न गरे, “जब संसद भवनमै आगजनी हुँदैछ, हतियार खोसिँदैछ, प्रहरी कुटिँदैछ— त्यो बेला पनि प्रहरी मौन बस्ने हो भने, के हामी केवल दर्शक बनौं ?”

‘उल्टो न्याय’ र प्रहरीमाथि दोषारोपणको प्रवृत्ति
आईजीपी खापुङले हाल देखिएको ‘उल्टो न्यायको प्रवृत्ति’— अर्थात् अपराधीलाई नायक बनाउने र प्रहरीलाई दोषी ठहराउने संस्कृतिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

उनले कटाक्ष गरे, “निहत्था प्रहरीलाई कुट्ने, घिसार्ने, घोचेर मार्ने आन्दोलनकारीलाई नायक बनाउने समाजले आखिर कस्तो सुरक्षा चाहेको हो ?”

उनका अनुसार, प्रहरी सधैं राज्य र जनताको सुरक्षाका लागि खटिएको छ, तर अहिले प्रहरीको मनोबल तोड्ने गरी व्यवहार भइरहेको छ । “हिजो पनि, आज पनि प्रहरी संविधानको पक्षमा उभिएको छ । तर जब भोकभोकै देशका लागि लड्ने सिपाहीलाई बयानका लागि बोलाइन्छ, त्यसको आवाज बोल्ने को ?” भन्दै उनले प्रश्न गरे ।

राजनीतिक स्पष्टता र प्रहरीको भूमिकामा नीति आवश्यक
अन्त्यमा, आईजीपी खापुङले राज्यले प्रहरीको भूमिकाबारे स्पष्ट नीति ल्याउन आवश्यक भएको बताए । उनका अनुसार, संविधानको रक्षा गर्ने प्रहरीलाई बलविहीन बनाएर मुलुक सुरक्षित राख्न सकिँदैन ।

उनले जोड दिए, “राजनीतिक आन्दोलनको आवरणमा आगजनी र लुटपाट हुने हो भने त्यो राजनीति होइन, आतंकको बीउ हो । समयमै सचेत नभए देशले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार १०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP