मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल-२: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरको भिडन्त

2.1K
SHARES
एनपीएल-२: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरको भिडन्त

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेटको दोस्रो संस्करणमा लिग चरण समाप्त भएसँगै अब प्रतियोगिता निर्णायक चरणमा प्रवेश गरेको छ । आज (मंगलबार) हुने पहिलो क्वालिफायरमा शीर्ष स्थानमा पुगेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थान कब्जा गरेको विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन् ।

खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः०० बजेबाट सुरु हुनेछ । सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्दैछन् भने विराटनगरलाई सन्दीप लामिछानेले कप्तानी गर्नेछन् ।
क्वालिफायर–१ को विजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग फेरि एक मौका पाउनेछ । इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी भिड्दैछन् ।

कसले पार्नेछ सुदूरपश्चिममा प्रभाव ?
सुदूरपश्चिमका वरिष्ठ ब्याट्सम्यान विनोद भण्डारी टुर्नामेन्टभर टीमका भरपर्दा रनको स्रोत बनेका छन् । सात खेलमा २०१ रन जोड्दै उनी शीर्ष–५ रन–स्कोररमा परेका छन् । उनले ७ खेलबाट ३३.५० को औसतमा २०१ रन जोडिसकेका छन् । यस अवधिमा उनले एक अर्धशतक प्रहार गरेका छन् भने अविजित ६९ रन उनको उच्च स्कोर हो । भण्डारीले २० चौका र ६ छक्का प्रहार गर्दै १०८.६४ को स्ट्राइक रेट कायम राखेका छन् । उनी पछि आरिफ शेख (१६० रन), कप्तान ऐरी (१४६ रन) र विदेशी शक्ति क्रिस लिन (१४३ रन) को योगदानले शीर्ष क्रम मजबुत बनेको छ ।

बलिङतर्फ अविनाश बोहरा सुदूरपश्चिमका प्रमुख हतियार बनेका छन् । उनले ७ खेलमा १२.२८ को औसतमा १४ विकेट लिँदै टोलीका प्रमुख विकेट लिनेमा परेका छन् । ७.८१ को इकोनोमीसहित ३० रन खर्चेर ४ विकेट लिएको उनको प्रदर्शन यस सिजनको उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक हो । उनीसँगै हर्मित सिंह (१० विकेट) र स्कट कुगेलाइन (८ विकेट) ले आक्रमणलाई सन्तुलन दिएका छन् ।

विराटनगरका खेल बदल्ने सितारा
विराटनगरका कप्तान सन्दीप लामिछाने टुर्नामेन्टका टप विकेट–टेकरमा रहँदै निकै प्रभावशाली बनेका छन् । उनलेले ७ खेलबाट सर्वाधिक १५ विकेट लिँदै टोलीको बलिङ आक्रमणलाई अगाडि बढाएका छन् । ९.५३ को औसत र ५.१० को उत्कृष्ट इकोनोमीसहित उनले विपक्षी ब्याट्सम्यानलाई निरन्तर दबाबमा राख्दै आएका छन् । ११ रन खर्चेर ४ विकेट लिएको प्रदर्शन उनको सिजनकै उत्कृष्ट हो ।

लामिछानेलाई मर्चेन्ट डि लाङ (८ विकेट) र शुभम् सुवास रन्जाने (५ विकेट) ले साथ दिएका छन् ।

ब्याटिङतर्फ बसिर अहमद ७ खेलबाट १७६ रनसहित विराटनगरका शीर्ष स्कोरर बनेका छन् । अहमदले अग्रपङ्तिको जिम्मेवारी सम्हाल्दै २९.३३ को औसत र १२७.५३ को स्ट्राइक रेटसहित अविजित ६२ रनको उच्च स्कोर गरेका छन् ।

त्यस्तै, लोकेश बम १६५ रनसहित स्थिर प्रदर्शनमा छन् । विदेशी स्टार मार्टिन गप्टिलले ४ खेलमा १२१ रन जोडेर अनुभव थपेका छन् भने पछिल्लो खेलमा फाफ डुप्लेसिसको अर्धशतक विराटनगरका लागि ठूलो सकारात्मक संकेत बनेको छ ।

लिग चरणको अन्तिम खेलमा विराटनगरसँग पराजित भएको सुदूरपश्चिम अब क्वालिफायरमा बदला लिने लक्ष्यसहित मैदानमा उत्रिंदैछ । दुवै टिम उत्कृष्ट लयमा रहेकाले यो खेललाई एनपीएल २ को सबैभन्दा कडा भिडन्त मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २३, मंगलवार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP