मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपद्, सेवा प्रवाह र परराष्ट्र नीतिमा सरकारमाथि वर्षमान पुनको प्रश्न

507
SHARES
विपद्, सेवा प्रवाह र परराष्ट्र नीतिमा सरकारमाथि वर्षमान पुनको प्रश्न

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारले विपद् व्यवस्थापन, जनसेवा र परराष्ट्र नीतिमा गम्भीर कमजोरी देखाएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले प्राकृतिक विपद्को बेला राज्यका स्रोत–साधन जनताको उद्धारमा केन्द्रित हुनुपर्ने भए पनि मन्त्रीहरूको सुविधाका लागि प्रयोग भइरहेको दाबी गरे । विपद् उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र नेपाली सेनाको स्काई ट्रक सामान्य बिरामी भएका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गर्नु गैरजिम्मेवार निर्णय भएको उनको भनाइ थियो ।

जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भए पनि उद्धार, पुनर्स्थापना र पुनर्निर्माणको काम अपेक्षाअनुसार अघि बढ्न नसकेको उनले बताए । जोखिमयुक्त बस्तीको भूगर्भीय अध्ययन गरी आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने उनको माग थियो ।

पुनले गृहमन्त्री सुधन गुरुङ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहेको टिप्पणी गर्दै देशभरको विपद् अवस्था, राहत वितरण र सरकारी तयारीबारे सदनलाई औपचारिक जानकारी गराउन आग्रह गरे ।

जनताको दैनिक जीवनसँग जोडिएका सेवामा पनि सरकारले सुधार गर्न नसकेको भन्दै उनले खाना पकाउने ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिक अझै घण्टौँ लाइन बस्न बाध्य रहेको उल्लेख गरे । नयाँ राजनीतिक शक्तिहरू सरकारमा पुगे पनि सेवा प्रवाहमा पुरानै प्रवृत्ति दोहोरिएको उनको आरोप थियो ।

परराष्ट्र नीतितर्फ उनले नेपालको असंलग्न नीति संविधानले स्पष्ट रूपमा निर्देशित गरेको स्मरण गराउँदै कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा झुक्ने व्यवहार राष्ट्रहितविपरीत हुने बताए । तिब्बत र दलाई लामासम्बन्धी सरकारी धारणा अस्थिर देखिएकाले त्यसले नेपालको सार्वभौमिकता र कूटनीतिक विश्वसनीयतामाथि प्रश्न उठाउन सक्ने उनले चेतावनी दिए ।

साथै, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ अनुरूप आवश्यक नयाँ कानुन ल्याउन सभामुखमार्फत सरकारलाई रुलिङ गर्न उनले माग गरे । धर्मलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति शून्य सहनशीलताको नीति अपनाउन सरकार गम्भीर हुनुपर्नेमा पनि उनले जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २, मंगलवार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP