मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सडकका शंकास्पद गतिविधिबाट संसद् तात्यो, सत्ता–प्रतिपक्षबीच आरोप–प्रत्यारोप

260
SHARES
सडकका शंकास्पद गतिविधिबाट संसद् तात्यो, सत्ता–प्रतिपक्षबीच आरोप–प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सडकमा पछिल्ला दिनहरूमा देखिएका शंकास्पद गतिविधिका विषयमा सत्ता र प्रतिपक्षबीच तीव्र आरोप–प्रत्यारोप भएपछि तनावपूर्ण बनेको छ । विपक्षी दलहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदा सत्तापक्षले त्यसलाई निराधार आरोपको संज्ञा दिएको हो ।

बैठकमा नेकपा एमालेका सांसद गणेश ठगुन्नाले केही दिनयता सडकमा देखिएका शंकास्पद सवारीसाधन तथा सञ्चारमाध्यम र सार्वजनिक स्थलमा भएको अवरोधप्रति गम्भीर आपत्ति जनाए । उनले ती घटनाले पञ्चायतकालीन मण्डले संस्कृति र राज्यद्वारा सिर्जित त्रासको झल्को दिएको टिप्पणी गर्दै सरकारको भूमिका स्पष्ट हुनुपर्ने माग गरे ।

ठगुन्नाले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने आफ्नो पार्टीको अडान दोहोर्‍याउँदै माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताए । उनले अव्यवस्थित रूपमा सुकुम्बासीहरूलाई वर्षाको समयमा जोखिमपूर्ण अवस्थामा राखिएको भन्दै सरकारको कार्यशैलीको पनि आलोचना गरे ।

उनको अभिव्यक्तिपछि सत्तापक्षका सांसदहरूले कडा प्रतिवाद गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले नियमापत्ति जनाउँदै प्रमाणबिना राज्य संयन्त्रलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाइन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) को उल्लेख गर्दै उनले कुनै व्यक्ति वा समूहको गतिविधिलाई आधार बनाएर सम्पूर्ण राज्य संयन्त्रलाई दोषी देखाउन नमिल्ने बताइन् । यदि सरकार वा राज्य नै ती शंकास्पद सवारी परिचालनमा संलग्न रहेको दाबी गरिएको हो भने त्यसको ठोस प्रमाण प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

सडकमा देखिएका घटनालाई लिएर सुरु भएको विवाद संसद्सम्म पुगेपछि सत्ता र प्रतिपक्षबीचको राजनीतिक दूरी थप बढेको संकेत देखिएको छ । दुवै पक्षले एकअर्कामाथि तीखा आरोप लगाइरहेका बेला आगामी संसदीय बैठकहरूमा पनि यो विषयले प्रमुख स्थान पाउने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP