मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली ‘कोर समूह’को सन्देश : पुनर्गठन होइन, प्रतिरोधको तयारी

2.1K
SHARES
ओली ‘कोर समूह’को सन्देश : पुनर्गठन होइन, प्रतिरोधको तयारी

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उनको नजिकको समूहले पार्टीभित्र नेतृत्व पुनर्गठनका बहसहरू अस्वीकार गर्दै सरकारको वैधानिकतामाथि प्रश्न उठाउने सन्देश दिएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटीको ‘भेटघाट कार्यक्रम’मा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीभित्र एकताको पक्षमा र पुनर्गठनको विरोधमा अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा ढिलो पुगेका उपाध्यक्ष गुरुप्रसाद बराल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने बोल्ने मौका दिइएको थिएन । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत अन्य पदाधिकारी उपस्थित नहुँदा कार्यक्रम ओलीको ‘कोर समूह’को प्रदर्शनमा केन्द्रित बनेको देखियो ।

भक्तपुरको गुन्डुमा आयोजित सो कार्यक्रममा महेश बस्नेतले सरकार र पत्रकारहरूमाथि तीव्र प्रहार गर्दै आन्दोलनकारीहरूको विरोधमा ‘अचार बनाएर फर्काउने’ चेतावनीसमेत दिए । उनले एमालेविरुद्ध अभियान चलाउनेहरूलाई जेलमा थुनिने धम्कीसमेत दिएका थिए ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीभित्र नेतृत्व पुनर्गठनको चर्चा असान्दर्भिक भएको बताउँदै अहिलेको समय एकताको भएको तर्क गरे । उनका अनुसार पार्टीमाथि आक्रमण भइरहेका बेला पुनर्गठन होइन, एकताले मात्र संगठनलाई बलियो बनाउन सक्छ ।

महासचिव शंकर पोखरेलले पनि ओली नेतृत्वको सरकारको बचाउ गर्दै ‘जेन–जी०’ आन्दोलन र सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमाथि तीव्र आलोचना गरे । उनले संसद् विघटनलाई असंवैधानिक बताउँदै प्रधानमन्त्री कार्कीलाई संवैधानिक परीक्षण गर्न चुनौतीसमेत दिए ।

उनले भने, “नेपाली समाजले कहिल्यै द्वन्द्वकालका प्रधानमन्त्रीलाई दण्डित गरेको छैन। तर अहिले परम्पराविपरीत नेतृत्वविरुद्ध घृणा फैलाउने प्रयास भइरहेको छ ।”

अध्यक्ष ओलीले पनि लामो भाषण गर्दै वर्तमान सरकार नेपाली जनताको नभएको र संसद् विघटन असंवैधानिक भएको दोहोर्याए । उनले संसद् पुनर्स्थापनाको मागमा फागुन २१ अगावै जनआन्दोलनको चेतावनी दिए ।

ओलीले आफ्नो देशभित्र यात्रा रोकिएको निर्णयलाई ‘तमासा’ भन्दै जेन–जी विद्रोहमाथिको छानबिन आयोगको प्रतिवेदन अस्वीकार गर्ने घोषणा गरे ।

तर, ओलीको भाषणमा आत्मसमीक्षा अनुपस्थित देखियो । उनले सरकार र आन्दोलनमाथि तीव्र प्रहार गरे पनि आफ्नै नेतृत्वमा उठेका प्रश्नहरूबारे मौन रहे ।

राजनीतिक विश्लेषकहरूका अनुसार, सो कार्यक्रमले एमालेभित्र ‘ओली प्रवृत्ति’ र नयाँ पुस्ताबीचको टकराव अझ स्पष्ट भएको संकेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार १२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP