मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: नेपालले आज वेस्टइन्डिजको सामना गर्दै

1.2K
SHARES
टी–२० विश्वकप: नेपालले आज वेस्टइन्डिजको सामना गर्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को महत्वपूर्ण खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल भारतीय समयअनुसार बिहान ११ः१५ बजे मुम्बईस्थित वानखेडे स्टेडियम मा सुरु हुनेछ । प्रतियोगिता आईसीसीको आयोजनामा भारत र श्रीलंकाले संयुक्त रूपमा गरिरहेका छन् ।

समूह अवस्था र दुवै टोलीको लक्ष्य
समूह ‘सी’मा नेपाल हालसम्म अंकविहीन छ भने वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ । दुईपटकको विश्व विजेता वेस्ट इन्डिज आज तेस्रो जित निकाल्दै ‘सुपर आठ’ चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

यता नेपाल भने प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

अघिल्ला खेलको समीक्षा
नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग कडा प्रतिस्पर्धा गरेको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाए पनि चार रनले पराजित हुनुपरेको थियो ।

दोस्रो खेलमा भने नेपाल इटालीसँग १० विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२३ रन जोडेको थियो, तर इटालीले बिना विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । कमजोर प्रदर्शनपछि आजको खेलमा सुधारिएको रणनीति र संयमित खेल आवश्यक देखिएको छ ।

विश्वकपमा नेपालको यात्रा
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमार्फत पहिलोपटक सहभागिता जनाएको थियो । त्यसपछि दोस्रोपटक विश्वकप खेल्न नेपालले एक दशक कुर्नुपर्‍यो । सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको प्रतिस्पर्धात्मक प्रदर्शनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति दरिलो बनाएको थियो । दक्षिण अफ्रिकासँग एक रनको झिनो अन्तरले पराजित भए पनि टोलीको प्रदर्शन प्रशंसनीय रह्यो ।

हालसम्म दुई संस्करण खेले पनि नेपाल समूह चरणभन्दा माथि पुग्न सकेको छैन । यस संस्करणमा पनि टोली कप्तान रोहितकुमार पौडेल कै नेतृत्वमा मैदानमा उत्रिएको छ ।

समूह संरचना र आगामी खेल
समूह ‘सी’मा नेपालसँगै दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । नेपालले आफ्नो अन्तिम समूह खेल फागुन ५ गते स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

विश्वकपका लागि नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम टोलीमा रहेका छन् ।

आजको खेलमा संयमित ब्याटिङ, सशक्त बलिङ र चुस्त फिल्डिङ प्रस्तुत गर्न सके नेपालले ऐतिहासिक जित दर्ता गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ०१:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP