मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरमा किशोरी हत्याः आमा प्रेमीका कारण १५ वर्षीया छोरीको ज्यान गयो

2.7K
SHARES
जनकपुरमा किशोरी हत्याः आमा प्रेमीका कारण १५ वर्षीया छोरीको ज्यान गयो

जनकपुरधाम । धनुषाको जनकपुरमा एक १५ वर्षीया किशोरीको हत्या आरोपमा उनकी आमासँग प्रेम सम्बन्ध रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरी अञ्जली कुमारी यादव आफ्नी आमासँग डेरामा बस्दै आएकी थिइन् ।

धनुषा प्रहरीले क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । उनलाई बुधबार राति १०ः३० बजे क्षीरेश्वरनाथकै क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीको हत्यामा जेल बसेर छुटेका रामबाबु, आमासँग प्रेम, छोरीको हत्या
रामबाबु साह विगतमा आफ्नै पहिलो पत्नीको हत्या अभियोगमा पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा रिहा भएपछि उनले दोस्रो विवाह गरे र मदिरा पसल सञ्चालन गर्न थाले । यही क्रममा उनले अञ्जलीकी आमा आशा यादवसँग सम्बन्ध बनाएका थिए ।

प्रहरीका अनुसार, आशाको पहिलाका श्रीमानले सम्बन्धबारे थाहा पाएपछि गाउँमा छलफल भयो । छलफलपछि आशा रामबाबुसँग बस्ने र पूर्व श्रीमानले सन्तानको हेरचाह गर्ने सहमति भएको थियो । त्यसयता आशा र रामबाबु जनकपुर–४, कटैयाचौरीमा डेरामा बस्दै आएका थिए ।

प्रेममा दरार, द्वन्द्वमा परिणति
प्रेमसम्बन्ध बिग्रन थालेपछि रामबाबु साहले आशालाई फोन नउठाएको, डेरा सारेर सम्पर्क टुटाउने, अनि आफ्नो श्रीमतीलाई म्यासेज गरेर घरमा झगडा लगाउने आरोप लगाएका छन् । प्रहरीले बताएअनुसार करिब दुई महिना अघि उनले आशालाई अटो किनिदिएका थिए, जुन आशाले पछि आफ्ना भाइको नाममा नामसारी गरेपछि सम्बन्ध चिसियो ।

रामबाबु साहले आशा आफ्नो पुराना श्रीमानतिर फर्किंदै गएको शंका गर्दै आएका थिए । यही ईर्ष्या, शंका र क्रोधका कारण घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाको रातः फोनबाट सुरु, खुकुरी प्रहारमा अन्त्य
प्रहरीका अनुसार, घटनाको रात साहले बारम्बार फोन गर्दा आशाले फोन छोरी अञ्जलीलाई दिने गर्थिन् । फोनमा भनाभनपछि उनी खुकुरी बोकेर आशाको डेरातर्फ गएका थिए । राति करिब ११ः३० बजे उनले खुकुरी प्रहार गर्दा अञ्जलीको घटनास्थलमै मृत्यु भयो ।

प्रहरीले दिएको जानकारीअनुसार, अञ्जलीकी आमा आशा यादव र ढल्केवरकी १४ वर्षीया राशा यादव पनि घटनामा घाइते भएका छन् । घाइते आशाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर छ ।

प्रेम–विवाहको त्रिकोणीय द्वन्द्व, निसानामा किशोरी
यो घटना केवल एक आपराधिक मामिला नभई, प्रेम, अविश्वास, स्वार्थ र हिंसाको जटिल त्रिकोणको परिणाम देखिन्छ । जसको अन्त्यमा एक किशोरीले ज्यान गुमाउनु परेको छ, आमा गम्भीर घाइते भएकी छिन् र आरोपी फेरि कानुनी कठघरामा उभिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP