मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २३ जना पक्राउ

195
SHARES
देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट २३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट गाँजा, ब्राउनसुगर, खैरो हेरोइन, पोलेन तथा विभिन्न प्रकारका नियन्त्रित औषधिसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको नरेफाँटबाट प्रहरीले सिन्धुली घर भई हाल काठमाडौं बस्दै आएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई करिब २२ किलोग्राम गाँजा र नगद ८ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको छ । त्यस्तै कलंकीबाट ४२ वर्षीय नरेन्द्रकुमार थापा मगरलाई करिब ३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ ।

कास्कीको पोखराबाट २५ वर्षीय हरिबहादुर घर्ती, धनुषाको जनकपुरबाट २५ वर्षीय नवीनकुमार यादव तथा कञ्चनपुरबाट गोविन्दबहादुर साउदसहित अन्य व्यक्तिहरूलाई पनि ब्राउनसुगर, खैरो हेरोइन तथा डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनजस्ता नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, ललितपुर, सिन्धुली, सुर्खेत, बाँके र सर्लाहीमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा थप लागूऔषध बरामद हुनुका साथै १८ जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । केही स्थानमा घर तथा डेरा खानतलासी गर्दा डिजिटल तराजु, नगद र ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा पक्राउ परेका एक व्यक्तिको घर पछाडिको खेतमा लुकाएर राखिएको २ सय १८ वटा नाइट्राजेपाम ट्याब्लेट र १ सय ४४ वटा स्पास्मो ट्याब्लेट समेत बरामद गरिएको छ । यस्तै कपिलवस्तु र बाँकेमा प्रारम्भिक पक्राउपछि गरिएको थप अनुसन्धानका क्रममा थप लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले लागूऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि देशभर निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ । पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २५, बिहीबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP