मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लिग–२ मा नेपाल र ओमान आमनेसामने: नेपालको पुरानो हिसाब बराबरी गर्ने लक्ष्य

260
SHARES
लिग–२ मा नेपाल र ओमान आमनेसामने: नेपालको पुरानो हिसाब बराबरी गर्ने लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको यो शृङ्खला नेपालको लागि एकदिवसीय विश्वकप छनोटतर्फको यात्रामा निकै महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

नेपालले शृङ्खलाको सुरुवात शानदार बनाएको छ । पहिलो खेलमा यूएईलाई ३७ रनले हराउँदै टोलीले आत्मविश्वास बढाएको छ । अर्कोतर्फ, ओमान भने आफ्नो अघिल्लो खेलमा यूएईसँग २५ रनले पराजित भएपछि पुनरागमनको खोजीमा छ ।

पुरानो प्रतिस्पर्धा र बद्लिँदो टोली
नेपाल र ओमानबीचको प्रतिस्पर्धा नयाँ होइन । सन् २०२० मा ओमानले नेपाल भ्रमण गर्दा कीर्तिपुरमै भएको शृङ्खलामा नेपालले हार व्यहोरेको थियो । त्यो समय ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोली अहिलेको भन्दा फरक थियो । अहिले टोलीमा अनुभव र युवा खेलाडीको राम्रो मिश्रण देखिन्छ ।

त्यतिबेलाका केही खेलाडी (दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी) अहिले पनि टोलीमा छन् । तर, अहिलेका प्रमुख ओपनर कुशल भुर्तेल र आसिफ शेख त्यसबेला टोलीमा थिएनन् । हाल नेपालको कप्तानी रोहित पौडेलले सम्हालिरहेका छन् भने ओमानको नेतृत्व जतिन्दर सिंहले गरिरहेका छन् ।

अंक तालिका र दबाब
लिग–२ मा नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा छ । शीर्ष चारभित्र परेर विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी १५ खेलमध्ये अधिकांश जित्नुपर्ने चुनौती छ । त्यसैले प्रत्येक खेल नेपालका लागि ‘गर या मर’ जस्तै बन्न थालेको छ ।

ब्याटिङमा सुधारको आवश्यकता
पहिलो खेलमा यूएईविरुद्ध नेपालले २०० रन मात्र बनाउन सकेको थियो, जसले टोलीको ब्याटिङ अझ सुदृढ गर्नुपर्ने संकेत दिएको छ । ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलबाट यसपटक राम्रो सुरुवातको अपेक्षा गरिएको छ । विशेषगरी घरेलु क्रिकेटमा राम्रो लयमा रहेका आसिफबाट ठूलो इनिङ्सको आशा गरिएको छ ।

ओमानको बलिङ चुनौती
ओमानको टोली बलिङतर्फ बलियो मानिन्छ। बिलाल खान र कलिमुल्लाहको आक्रमण नेपाली ब्याट्सम्यानका लागि कठिन परीक्षा बन्न सक्छ । नेपालले यदि सुरुवात राम्रो गर्न सकेमा खेल आफ्नो पक्षमा ल्याउने सम्भावना बलियो हुनेछ ।

दर्शकको साथ र लक्ष्य स्पष्ट
घरेलु मैदान र समर्थकको साथ नेपालका लागि ठूलो फाइदा बन्न सक्छ । यस खेलमा जित निकाल्दै ओमानसँगको पुरानो हारको बदला लिने र अंक तालिकामा सुधार गर्ने लक्ष्य नेपालले राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १६, बुधबार ०१:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP