मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उल्लासका साथ आज मनाइँदै बकर इद

442
SHARES
उल्लासका साथ आज मनाइँदै बकर इद

काठमाडौं । आज मुस्लिम समुदायको दोस्रो महान् धार्मिक पर्व बकर इद (इदुल जोहा) श्रद्धा, उत्साह र धार्मिक आस्थाका साथ मनाइँदै छ । पर्वका अवसरमा बिहानैदेखि विभिन्न मस्जिद तथा इदगाहमा मुस्लिम धर्मावलम्बीको उल्लेख्य उपस्थिति हुन्छ ।

राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशका विभिन्न स्थानका मस्जिदमा सामूहिक नमाज पढ्ने परम्परा छ । नमाजपछि एकअर्कामा शुभकामना साटासाट गर्दै भाइचारा, सद्भाव र सहयोगको सन्देश फैलाइन्छ । सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

धार्मिक परम्पराअनुसार रमजानपछि करिब ७० दिनमा मनाइने बकर इदलाई त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा लिइन्छ । मुस्लिम समुदायले अल्लाहप्रतिको आस्था र विश्वास व्यक्त गर्दै जायज मानिएका जनावरको कुर्बानी (बलि) दिने परम्परा निर्वाह गर्छन् ।

धार्मिक विश्वासअनुसार अल्लाहले नबी इब्राहिमलाई आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन आदेश दिएको प्रसंगसँग यो पर्व जोडिएको छ । इब्राहिमले अल्लाहको आदेश पालना गर्न तयार भएपछि अन्तिम समयमा इस्माइलको सट्टा स्वर्गबाट आएको दुम्बाको कुर्बानी भएको मान्यता रहेको छ । यही घटनाको स्मरणमा प्रत्येक वर्ष बकर इद मनाउने परम्परा रहिआएको छ ।

मुस्लिम धर्मगुरुहरूका अनुसार बकर इदले मानिसलाई त्याग, अनुशासन, दया र मानव सेवाको भावना सिकाउने गर्दछ । कुर्बानी गरिएको मासु तीन भागमा विभाजन गरी एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त र इष्टमित्रलाई तथा बाँकी भाग परिवारका लागि राख्ने चलन छ । यसले सामाजिक सद्भाव र सहकार्यलाई बलियो बनाउने विश्वास गरिन्छ ।

यस पर्वसँग हज यात्राको पनि विशेष सम्बन्ध रहेको छ । मुस्लिम धर्मावलम्बीहरूका लागि साउदी अरबको मक्का र मदिना पुगेर हज गर्नु पवित्र मानिन्छ । हज गर्न नपाएका व्यक्तिहरूले पनि आफ्नै घर तथा समुदायमा धार्मिक विधिअनुसार बकर इद मनाउने गरेका छन् ।

मुस्लिम समुदायले आजदेखि आगामी तीन दिनसम्म विभिन्न धार्मिक कार्यक्रम, भेटघाट र कुर्बानीसहित पर्व मनाउने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १४, बिहीबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP