मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रेशम चौधरीले पत्नी रञ्जिता हटाएर बुवालाई बनाए अध्यक्ष

3.3K
SHARES
रेशम चौधरीले पत्नी रञ्जिता हटाएर बुवालाई बनाए अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले वर्तमान अध्यक्ष तथा पत्नी रञ्जिता चौधरीलाई पदमुक्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई नयाँ अध्यक्ष नियुक्त गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम राष्ट्रिय भेलाबाट चौधरीले यस्तो निर्णय गराएका हुन् । भेलाबाट रञ्जितालाई पार्टीको साधारण सदस्यबाटसमेत हटाइएको छ ।

पार्टीमा विवाद चर्किरहेका बेला गत आइतबार रञ्जिता चौधरीले आफू अस्वस्थ रहेको भन्दै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर त्यस निर्णयलाई नै गलत ठहर गर्दै रेशम पक्षले राष्ट्रिय भेलाबाट रञ्जितालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरायो ।

रेशम पक्षको आरोप छ— रञ्जिताले केन्द्रीय समिति बैठकबिना आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको हो । सोही कारण उनलाई पार्टीबाटै बाहिर गरिनुपरेको रेशमको भनाइ छ ।

रञ्जिता चौधरी र रेशम चौधरीबीच पारिवारिक दूरी पनि देखिएको छ । अर्की पत्नीको साथमा बसिरहेका रेशमले अब पार्टीबाट पनि रञ्जितासँग सम्बन्ध तोडेका छन् । सोही निर्णयसँगै उनले आफ्ना बुवा लालवीरलाई पार्टी अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् ।

२०७९ को संघीय निर्वाचनमा चार सिट जितेर चर्चामा आएको नाउपा अहिले भित्र्याएको विवादका कारण अन्योलमा परेको छ । प्रतिनिधिसभासँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा समेत प्रतिनिधित्व गरिरहेको पार्टीभित्र शक्ति सन्तुलन र निर्णय प्रक्रियाबारे गम्भीर संकट देखिएको छ ।

पार्टीबाट हटाइएकी रञ्जिता चौधरीले यस घटनाबारे असन्तुष्टि जनाएकी छन् । उनले संसदीय दलका नेता गंगाराम चौधरीसँग स्पष्टीकरण मागिसकेकी छन् । रञ्जिता पक्षधरले अब छुट्टै निर्णय लिने तयारी गरिरहेको बुझिएको छ ।

राष्ट्रिय भेलामा बोल्दै रेशमले पार्टीको नेतृत्व प्रक्रियाबारे स्पष्ट प्रक्रिया अपनाइनुपर्ने बताए । उनले भने, “रञ्जिताजीले कार्यवाहक अध्यक्ष तोक्नु अराजनीतिक निर्णय थियो । केन्द्रीय बैठकबिना त्यो निर्णय स्वीकार्य छैन ।”

उनले पार्टीभित्र भइरहेका घटनालाई सामान्य राजनीतिक प्रक्रिया बताए पनि अध्यक्ष पदमा बुवालाई ल्याउनु आफ्नो व्यक्तिगत चाहना नभएको पनि प्रस्ट पारे ।

नाउपाको यो घटनाक्रमले देखाएको छ— पार्टीको नेतृत्व विवाद अब केवल राजनीतिक नभएर पारिवारिक द्वन्द्वमा समेत परिणत भएको छ । यही कार्यकालमा पहिलो चुनाव जितेको पार्टीभित्रको संकटले अब उसको अस्तित्वमै प्रश्न उठाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP