मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार : साम्पाङ

377
SHARES
सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार : साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क राज राई (साम्पाङ) ले सरकारलाई संसद्प्रति जिम्मेवार र जवाफदेही बनाउन आफ्नो पार्टी निरन्तर संघर्षमा रहने बताएका छन् । उनले आवश्यक परे विरोधकै क्रममा आफूहरू निलम्बन हुन पनि तयार रहेको स्पष्ट पारेका छन् ।

बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले संसद् जनताको आवाज उठाउने सर्वोच्च थलो भएकाले सरकारलाई प्रश्न गर्न पाउनुपर्ने बताए । तर, सरकारले उठाइएका विषयमा स्पष्ट जवाफ दिन नचाहेको आरोप लगाउँदै उनले प्रतिपक्षको भूमिका अझ सशक्त बनाइने बताए ।

उनले आगामी पाँच वर्षसम्म पनि प्रतिपक्षमा बसेर सरकारको गलत कामविरुद्ध आवाज उठाइरहने धारणा व्यक्त गरे । “जनताका सवाल उठाउँदा निलम्बन हुनुपर्छ भने त्यसका लागि पनि हामी तयार छौँ,” उनले भने ।

साम्पाङले सभामुखको पछिल्लो रुलिङप्रति पनि असन्तुष्टि जनाए । सरकारलाई प्रश्न गर्न नदिनेगरी गरिएको निर्णय संसदीय अभ्यास र लोकतान्त्रिक मूल्यविपरीत रहेको उनको भनाइ थियो । उनले संसद्को गरिमा, विधि–विधान र सार्वभौमिकताको रक्षाका लागि आफूहरू संघर्षरत रहने बताए ।

उनका अनुसार सुकुम्बासी समस्या, लिपुलेकको विषय, विदेशी ऋण तथा जनजीविकासँग जोडिएका विभिन्न मुद्दामा सरकारले स्पष्ट धारणा सार्वजनिक नगरेकाले विरोध गर्नुपरेको हो । सरकारले जनताका चासोका विषयमा मौनता अपनाएको भन्दै उनले त्यसको मूल्याङ्कन अन्ततः जनताले नै गर्ने बताए ।

अध्यक्ष साम्पाङले संसद्मा उठाइएका प्रश्नहरूको जवाफ दिनबाट सरकार पन्छिन खोजेको आरोप लगाउँदै जनताको प्रतिनिधिमूलक संस्थालाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने चेतावनी समेत दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP