मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा

6.9K
SHARES
निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले पछिल्ला चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब नबढेको र यस अवधिमा १७ दशमलब ३ प्रतिशतसम्म मूल्यवृद्धि भएको उल्लेख गर्दै कर्मचारीको जीवनयापनलाई सहज बनाउन तलब पुनरावलोकन गरिएको बताए ।

सरकारले आधारभूत तलबसँगै नयाँ तलबमानको १० प्रतिशत बराबर कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि दिने व्यवस्था गरेको छ । यसअघि दिइँदै आएको मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता यथावत रहनेछ । यी सबै सुविधा जोड्दा कर्मचारीको कुल मासिक आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ ।

नयाँ व्यवस्थाअनुसार कार्यालय सहयोगी स्तरका कर्मचारीको कुल मासिक पारिश्रमिक झन्डै ४० हजार रुपैयाँ पुग्नेछ भने मुख्यसचिवको मासिक आम्दानी एक लाख रुपैयाँ नजिक पुग्ने भएको छ ।

हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब पाइरहेका मुख्यसचिवको तलब बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । त्यसमा प्रोत्साहन भत्ता र महँगी भत्ता जोड्दा कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, कार्यालय सहयोगीको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ । महँगी भत्ता र प्रोत्साहन रकम जोडिएपछि उनीहरूको मासिक आम्दानी ३८ हजार ४०९ रुपैयाँ पुग्ने बताइएको छ ।

पेन्सनभोगी कर्मचारीहरूको हकमा भने आधारभूत तलबमा थपिएको रकमको दुईतिहाइ हिस्सा मात्रै समायोजन हुनेछ । त्यसअनुसार पूर्वमुख्यसचिवहरूको पेन्सन करिब पाँच हजार रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ ।

२०७९ सालमा सरकारले १५ प्रतिशत तलब वृद्धि गरेपछि कर्मचारीहरूको तलब पुनः बढाइएको थिएन । गत वर्ष भने सबै तहका कर्मचारीलाई समान रूपमा मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइएको थियो ।

सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीहरूको तलब पनि निजामती कर्मचारीकै अनुपातमा समायोजन हुने संकेत गरेको छ । विस्तृत नयाँ तलबमान र सुविधा विवरण भने केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार १३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP